
एजेन्सी । चीनको गुइझाउ प्रान्तमा यसै जुन महिनामा एउटा विशाल पुल बन्दैछ । जुन पुल निर्माण सम्पन्न भइसकेपछि विश्वकै सबैभन्दा अग्लो पुलको रुपमा रेकर्ड राख्नेछ ।
रोचक तथ्य त के छ भने, चीनको पहाडी प्रान्त गुइझाउमा विश्वकै सबैभन्दा अग्ला १ सय वटा पुलमध्ये झन्डै आधा पुल छन् ।
र थपिँदैछ एउटा नयाँ विशाल अग्लो पुल । जुनको पुलको नाम हुआजिआङ ग्रान्ड क्यानोन ब्रिज भनिएको छ । यो नदी सतहदेखि २ हजार ५१ फिट उचाइमा रहेको यो पुल फ्रान्सको मिलाउ भियाडक पुलभन्दा ९४७ फिट अग्लो हुनेछ ।
जवकि हालसम्म फ्रान्सको उक्त पुलले नै विश्वको सर्वाधिक अग्लो पुलको रेकर्ड कायम गरेको छ । तर आगामी जुन महिनापछि हुआजिआङ ग्रान्ड क्यानोन ब्रिजले फ्रान्सको मिलाउ पुलको रेकर्ड तोडिदिनेछ ।
चीन सरकारका अनुसार सडक मार्ग हुँदै गाडीबाट यात्रा गर्न २ घन्टा लाग्ने समयलाई यस पुलले छोट्याएर जम्मा १ मिनेटमा ल्याइदिने छ । अर्थात् २ घन्टा समय लाग्ने दूरी अब यो पुल बनिसकेपछि १ मिनेटमा पार गर्न सकिने छ ।
२०२२ मा निर्माण सुरु भएको यो विशाल परियोजना यही जुन महिनामा सम्पन्न हुने भएको छ । र सोही बेला यसको उद्घाटनको तयारी गरिएको छ ।
ग्रामीण क्षेत्रमा रहेको यस पुलले उक्त प्रान्तको नै पर्यटनलाई समृद्ध बनाउने अपेक्षा गरिएको पनि छ । जहाँ थुप्रै साहसी खेलहरु प्रदर्शन गर्ने तयारी पनि गरिएको बताइएको छ ।
यसैगरी आकर्षक र भव्य व्यापारिक केन्द्रको रुपमा पनि पुलको प्रयोग गर्ने तयारी भइरहेको छ ।
यस पुलको लम्बाइ २ हजार ८ सय ९० मिटर रहेको छ । यस्तै वारपार जोड्ने पुलको स्पान १ हजार ४ सय २० मिटर लामो रहेको छ । जुन २६० मिटर अग्ला दुईवटा मुख्य पोलले पुललाई उभ्याएका छन् ।
त्यसो त, यस झोलुंगे पुलमुनि रहेको नदीको सतह वर्षाको समयमा अनपेक्षित रुपमा बढेर निकै माथिसम्म आइरहन्छ । जसले गर्दा पनि यस पुल निकै अग्लो बनाउनु परेको हुनसक्ने बताइन्छ ।
यो पुल निर्माणका लागि १४० मिलियन अमेरिकी डलर खर्च हुने पनि बताइएको छ । यस पुलले छुआनेइ र सुछेङ क्षेत्रलाई जोड्ने छ ।
यति भव्य पुल यति छोटो समयमै चीनले कसरी निर्माण गर्न सम्भव भयो भन्ने धेरैलाई चासो पनि भइरहेको छ । तर चीनले यसअघि पनि यस्ता ठूला परियोजना मानिसहरुले सोचेभन्दा छोटो समयमै सम्पन्न गरेको छ ।
विशेषगरी पश्चिमा देशहरुले भन्दा छोटो समयमा चीनले आफ्ना परियोजनाहरु सम्पन्न गर्दैआएको छ ।
चीनमा विश्वका सबैभन्दा अग्ला पुलहरु छन् । जसमध्ये प्रमुख १० वटा अग्ला पुलमध्ये ८ वटा र शीर्ष ५० वटा अग्लामध्ये ४३ वटा पुल चीनमै छन् ।
अर्कोतर्फ, विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिकामा भने सबैभन्दा अग्ला ५० पुलमध्ये जम्मा ३ वटा छन् ।
दोस्रो ठूलो अर्थतन्त्र रहेको र अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले भने पछिल्लो २० वर्षमा भौतिक संरचना निर्माणको क्षेत्रमा ‘टप टु डाउन’ शैली अपनाएको छ । यसबीचमा चीन सरकारले ठूला परियोजनामार्फत् आर्थिक विकास र क्षेत्रीय सम्पर्कलाई जोड दिँदैआएको छ ।
विशेषगरी पछिल्लो ठूलो पुल निर्माणसँगै गियाङ, अनशुन र किआनछिनान क्षेत्रबीच आर्थिक सम्बन्ध बलियो हुने चिनियाँ अधिकारीहरुले बताउँदै आएका छन् । र यसले क्षेत्रीय सम्बन्धलाई थप बलियो बनाउने पनि अपेक्षा गरिएको छ ।
यसैगरी, यो पुल निर्माणपछि यस क्षेत्र विश्वकै सबैभन्दा आकर्षक पर्यटक गन्तब्य बन्ने पनि बताइएको छ ।








प्रतिक्रिया