
काठमाडौं। आन्दोलनरत शिक्षक र सरकारबीच शनिबार वार्ता भएको छ ।
नवनियुक्त शिक्षामन्त्री रघु पन्तको पहलमा पहिलो वार्ता भएपनि सहमति भएन हुन सकेन । वार्ता सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको थियो ।
वार्तापछि बाहिर निस्केका नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शनिबारको वार्तामा महासंघले उठाएको मागको बारेमा नवनियुक्त शिक्षामन्त्री पन्तलाई जानकारी गराउने काम भएको जानकारी दिए । शनिबारको वार्तापछि सरकारले पुनः अर्को वार्ताको लागि मिति भने तय नगरेको उनले बताए ।
यसअघि शिक्षामन्त्री पन्तले आन्दोलनरत शिक्षकलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेका थिए । योसँगै शुक्रवार साँझ महासंघका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए ।
गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।








प्रतिक्रिया