त्यो विनाशकारी भूकम्प: ७ खर्ब ६ अर्ब बराबरको भएको थियो क्षति

196
Shares

काठमाडौं । आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।

सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए । दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो।

भूकम्पले १४ जिल्लामा धेरै क्षति पुगेको थियो । भूकम्पका कारण करिब ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको गृहमन्त्रालयको तथ्यांक छ ।

सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

काठमाडौंको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ ।

‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

यसैबीच राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो ।

रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो ।

पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् ।