
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् ।
उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताएका छन् ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दै पहलगाम आतंकवादी आक्रमणमा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गरेँ,’ओलीले भनेका छन्, ‘ यस्ता जघन्य कार्यहरूविरुद्ध भारतप्रति नेपालको दृढ ऐक्यबद्धता पुनः दोहोर्याएँ । नेपाली नागरिकको निधनप्रति उहाँले व्यक्त गर्नुभएको हार्दिक समवेदनाका लागि आभारी छु ।’
भारतको जम्मु–काश्मिर राज्यको पहलगामस्थित पर्यटकीय क्षेत्रमा मंगलबार भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने अर्की नेपाली महिला घाइते भएकी छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपाली महिला रेनु पाण्डे घाइते भएकी हुन् । उनको अवस्था स्थिर रहेको बताइएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१४ रूपन्देहीका सुदीप न्यौपाने रहेका छन् । घटनास्थलमा फेला परेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आधारमा न्यौपानेको पहिचान खुलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
न्यौपाने शनिबार आमा, दिदी र भिनाजुसँगै पर्यटकीय भ्रमणका लागि जम्मु–काश्मिर गएका थिए । उनीमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।
घटनास्थल श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ । सो आक्रमणमा हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
सैनिक पोशाकमा आएका पाँच जनाको समूहले पर्यटकलाई लक्षित गरी गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक आतंकवादी समूहले उक्त हमलाको जिम्मेवारी लिएको बताइएको छ । अधिकारीहरूका अनुसार यो आक्रमण पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो नागरिक लक्षित आतंकवादी हमला हो ।
प्रधानमन्त्री नरेन्द्र मोदी यो घटनापछि साउदी अरबको भ्रमण छोट्याएर भारत फर्किसकेका छन्। घटनापछि भारतीय सुरक्षाकर्मीहरूले उक्त क्षेत्रमा व्यापक सुरक्षा सतर्कता बढाएका छन् ।








प्रतिक्रिया