
काठमाडौं । महिला फुटबल खेलाडी रेनुका नगरकोटीलाई महिलातर्फ ‘एपिएफ महिन्द्रा प्लेयर अफ द इअर २०८१’ अवार्ड प्रदान गरिएको छ। ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पुरुषतर्फ ‘एपिएफ महिन्द्रा प्लेयर अफ द इअर २०८१ ’को उपाधी प्रदान गरिएको छ। अवार्डसँगै उनीहरुले जनही ५० हजार रुपैयाँ पाएका छन्।

त्यस्तै कराँते खेलाडी मोहम्मद सेखु आलमलाई ‘मस्ट पपुलर एपिएफ महिन्द्रा प्लेयर अफ द इअर २०८१ – पुरुष’ को उपाधी प्रदान गरिएको छ। महिला फुटबल खेलाडी प्रीति राईलाई ‘मस्ट पपुलर एपिएफ महिन्द्रा प्लेयर अफ द इअर २०८१ – महिला’ को उपाधी प्रदान गरिएको छ। उनीहरुलाई जनही २५ हजार रुपैयाँ दिइएको छ ।
‘एपिएफ महिन्द्रा टिम अफ द यियर २०८१’ को उपाधी एपिएफ महिला फुटबल टिमले हात पार्यो। टीमले ५० हजार नगद पाएको छ । ‘एपिएफ कोच अफ द इअर २०८१ – पुरुष’ तर्फ फुटबल प्रशिक्षक जिवेशकुमार पाण्डे र ‘एपिएफ कोच अफ द इअर २०८१ – महिला’को अवार्डबाट कराँते प्रशिक्षक गङ्गा देवी अधिकारीले पाईन्। उनीहरुलाई जनही २५ हजार पुरस्कार पाएका छन्।
त्यसैगरी ‘एपिएफ महिन्द्रा योङ प्लेयर अफ द इअर २०८१ – पुरुष’ यु-१६ फुटबल खेलाडी तेञ्जिङ शेर्पा र र ‘एपिएफ महिन्द्रा योङ प्लेयर अफ द इअर २०८१ – महिला’को अवार्ड सावित्री किशनलाई प्रदान गरिएको छ। उनीहरुलाई जनही रू. २५ हजार नगद पुरस्कार पाएका छन्।

एपिएफ क्लब र अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडको सहकार्यमा शुक्रबार सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक स्वयम्भुमा भएको प्रथम ‘एपिएफ महिन्द्रा स्पोर्ट्स अवार्ड २०८१’ कार्यक्रममा विभागिय टोली एपीएफमा रहेर खेलकुद क्षेत्रका विभिन्न विधामा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको हो ।
त्यसैगरी नेपाल एपिएफ क्लबका पूर्व प्रशिक्षक तथा पूर्व खेलाडीहरूलाई ‘एपिएफ आइजिपि कमेन्डेसन’को रूपमा कदर पत्र, तथा सहयोग गर्ने व्यक्ति तथा संघ-संस्थालाई कदर पत्र सहित सम्मान गरिएको छ ।

आवार्ड वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले भने ‘हामी राजनीतिज्ञहरुले खेलाडीहरुबाट अनुशासन सिक्नुपर्छ ।’
अवार्डको माध्यमबाट हामीले खेलकुद क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै, राष्ट्रको गौरवको लागि उल्लेखनीय योगदान पुर्याएका खेलाडी तथा अन्य खेलकर्मी व्यक्तित्वहरूको कदर तथा सम्मान गर्ने उद्देश्य लिएको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले बताए । उनले भने, ‘यस वर्षबाट सुरू गर्दै उत्कृष्ट खेलाडीहरूको पहिचान र सम्मान गर्ने यो प्लेटफर्मलाई हामी आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।’

खेलाडीहरूलाई प्रोत्साहनस्वरुप एपिएफ क्लबद्वारा आयोजना गरिएको यो अवार्ड कार्यक्रमको हिस्सा हुन पाउँदा गौरव महसुस भएको अग्नि ग्रुप महिन्द्रा नेपालले जनाएको छ। नेपाली खेलकुदको विकास तथा प्रवर्द्धनमा विभिन्न प्रायोजन तथा सहकार्यमार्फत विगत दस वर्ष देखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि भुमिका निर्वाहा गर्दै जाने कम्पनीले जनाएको छ।














प्रतिक्रिया