
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डमा रहेका उद्योगी व्यवसायीहरुसँग छलफल गरेका छन् ।
बिहीवार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीहरुसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपाल-थाइल्याण्डबीच दौत्य सम्बन्ध कायम भएको लामो समय भइसकेको र दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताए ।
नेपाल र थाइल्याण्ड कहिल्यै उपनिवेशमा बस्नु नपरेको र समान गरिबीबाट उठ्न खोजेका दुवै देश धेरै नै अघि बढिसकेका छन्।

पछिल्लो दशकमा थाइल्याण्डले विकास गरेको प्रविधि, हाँसिल गरेको समृद्धि र गरिबी निवारणमा अख्तियार गरेका नीतिहरुका कारण अहिले समृद्ध मुलुकहरुमध्ये एक थाइल्याण्ड पर्दछ । थाइल्याण्डले सिकेका ज्ञान, सीप र हाँसिल गरेको नविनतम प्रविधिहरु नेपालमा भित्र्याउनसके र थाइल्याण्डका लगानीकर्ताहरुले नेपालमा लगानी गर्नसके नेपालले पनि छिटै समृद्धि हासिल गर्नसक्ने उनले बताए ।
नेपालमा अहिले लगानीको वातावरण पनि बनेको र लगानीको सुरक्षाका लागि सरकारले हदैसम्म लचिलो भएको र त्यसअनुरुप कानून पनि संशोधन गरेको विषयमा पनि उनले जानकारी गराए।
थाइल्याण्डका व्यवसायीहरुले नेपालको शिक्षा, स्वास्थ्य, प्रविधिका विषयहरुमा लगानी गर्न इच्छुक रहेको छलफलमा बताएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । नेपाल-थाइल्याण्डको सम्बन्ध पर्यटनमा तुलनात्मक रुपमा राम्रो रहेको छ ।

थाइल्याण्ड बौद्धमार्गी देश भएकाले पनि बहुसंख्यक बौद्धमार्गीहरु बुद्ध जन्मिएको देश नेपालको लुम्बिनी भ्रमणमा आउने गर्दछन् । यसको फरक किसिमको सद्भाव र सम्मान छ । त्यसले पनि पर्यटनबाट लगानी भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको छ ।
थाइल्याण्डका व्यवसायीहरुले नेपालमा लगानीका लागि कृषि र प्रविधिका विषयहरुमा बढी जोड दिइरहेका छन् । नेपालमा रहेका उद्योगी छाता संगठनहरुको निरन्तरको प्रयास र पछिल्लो समय सरकारले लगानीका लागि कानून संशोधन गरी बनाएको अनुकुल वातावरणको प्रभावले धेरै लगानीकर्ता आकर्षित हुने सरकारको विश्वास रहेको छ ।
प्रतिक्रिया