
विराटनगर । उद्योग संगठन मोरङले समग्र अर्थतन्त्रको विकास र उद्योग व्यवसाय क्षेत्रको विकासको गतिलाई तीव्र बनाउन अनुमान योग्य नीतिगत सुधार गर्न सक्षम नेतृत्व नेपाल राष्ट्र बैंकले पाउने अपेक्षा गरेको छ । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रकृया सुरु गरेसँगै नीजि क्षेत्रको प्रतिनिधि मुलक संस्था संगठनले यस्तो अपेक्षा गरेको हो ।
विगत केही वर्षदेखि अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको उदासिनतालाई मध्यनजर गरी आर्थिक र वित्तीय क्षेत्रको गहिरो ज्ञान भएका देशको मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रण, ब्याज दरको निर्धारण, वित्तीय स्थिरता जस्ता विषयले औद्योगिक र आर्थिक क्षेत्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले व्यावहारिक अनुभव र बुझाइ भएका व्यक्तिलाई गभर्नर नियुक्ति गर्नुपर्नेमा संगठनले जोड दिएको छ ।
संगठनले विगतमा राष्ट्र बैंकले लिएको कहिले अत्यन्त कसिलो र कहिले खुकुलो नीतिले आर्थिक एवं औद्योगिक क्षेत्र प्रभावित भएको अनुभव भोगेको नीजि क्षेत्रले नयाँ गभर्नर नियुक्ति गर्दा देशको आर्थिक अवस्थामा सुधार ल्याउने, व्यावसायिक विकासको गति तीब्र बनाउन र दीगो समृद्धि सुनिश्चित गर्न नेपालका उद्योग र व्यापारका जटिलताहरूलाई राम्रोसँग बुझेको योग्य नेतृत्व आवश्यक रहेको उल्लेख गरेको छ ।
नेपाल राष्ट्र बैंक नेपाल सरकार कै आर्थिक सल्लाहकारका रुपमा रहने भएको हुँदा अर्थतन्त्रको वर्तमान जटिल समस्यालाई सम्बोधन गर्दै स्वदेशी उद्योगहरूलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन उद्योग व्यापार मैत्री नीति निर्माणको वातावरण बनाउन सक्षम, नेपालको मौद्रिक नीति र बैंकिङ प्रणालीलाई सुदृढ बनाई लगानी प्रवाह बढाउन सक्ने र आर्थिक वृद्धिको नयाँ अवसर सिर्जना गरी अर्थतन्त्रलाई एक स्थिर र सशक्त दिशा दिई जनताको आशा र विश्वासलाई नयाँ उचाईमा पुर्याउन सक्ने नयाँ सक्षम गभर्नर नियुक्त हुने अपेक्षा संगठनले गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया