दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरी परिचालन भइसक्यो, यस्तो अपराध क्षम्य हुँदैन: गृहमन्त्री

9.6k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार तीनकुनेमा घटेको जघन्य हिंसाका नाइकेलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको बताएका छन् । क्लिकमान्डुसँगको संक्षिप्त कुराकानीमा गृहमन्त्री लेखकले शुक्रबार अन्यन्तै हिंसात्मक, अमर्यादित र अराजनीतिक गतिवधि भएको बताउँदै सो कार्य गर्नेमाथि कुनै माफी नहुने बताए ।

‘मान्छेलाई घरभित्र राखेर बाहिरबाट आगो लगाएर मान्छे पोल्ने पनि कुनै राजनीतिक आन्दोलन हुन्छ ?’ गृहमन्त्री लेखकको प्रश्न छ ।

जघन्य र गम्भीर अपराधिक घटना भएको भन्दै उनले भने, ‘सो व्यक्ति तुरुन्तै पक्राउ पर्छ । पक्राउ गर्न प्रहरी परिचालन भइसक्यो । कुनै क्षम्यता हुँदैन । घरभित्र मान्छे बसेका छन् भन्ने थाहा छ । मान्छेलाई घरभित्र राखेर मान्छे पोल्ने जस्तो जघन्य अपराधलाई सरकारले कुनै पनि हालतमा सहने कुरा हुँदैन ।’

प्रस्तुत छ, गृहमन्त्री लेखकको भनाई जस्ताको तस्तै ।
अत्यन्तै ज्यादा हिंसात्मक, अराजक, अमर्यादित, अरानजीतिक काम हो । कुनै पनि राजनीतिक दल वा समूहले गर्ने काम होइन, यो हिंसात्मक हो । यो गतिवधिको कमान्डर मात्रै होइन, यस्तो हिंसा पनि कहीँ हुन्छ ? मान्छेलाई घरभित्र राखेर बाहिरबाट आगो लगाएर मान्छे पोल्ने पनि कुनै राजनीतिक आन्दोलन हुन्छ ? यो जघन्य र गम्भीर अपराधिक घटना भएको छ । यसमा सम्बन्धित व्यक्ति कानुनको दायरामा आउँछ । सो व्यक्ति तुरुन्तै पक्राउ पर्छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भइसक्यो । कुनै क्षम्यता हुँदैन । घरभित्र मान्छे बसेका छन् भन्ने थाहा छ । मान्छेलाई घरभित्र राखेर मान्छे पोल्ने जस्तो जघन्य अपराधलाई सरकारले कुनै पनि हालतमा सहने कुरा हुँदैन ।