
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरु नरहेको टिप्पणी गरेका छन् ।
सोमबार गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा स्वागतका लागि जम्मा भएका राजावादी समर्थकहरुले आफ्नो प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेका थिए ।
उनले असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी र प्रणाली बिरोधी कुरामा लाग्न आफूहरुलाई फुर्सद नभएको समेत बताए । उनले दरबार हत्यकाण्ड अझै सम्झिरहेको उल्लेख गर्दै विभत्सतामा आएका संस्थाका सर्मथकहरुका क्रियाकलाप यस्तै हुने बताए ।
प्रधानमन्त्री ओलीले भने,‘हामी एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौं । हामी आफैंसँग विचार छ, आफैंसँग नेता छन् । हामी यसको दृष्टान्त दिनसक्छौं । हामी आफैंले गरेका छौं । त्यसमा केही भयो भने केपी ओलीले मान्छे घुसायो भन्नुहुन्छ, त्यो जुलुस नै मैले गराइदेको हो, भयो । हामी आफ्नै कुरामा छौं । यस्ता फाल्तु, असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धती विरोधी, प्रणाली विरोधी कुरामा हामी लाग्नु हुँदैन । दरबार हत्याकाण्ड हामीले सम्झेका छौं । यो विभत्सतामा आएका संस्थाहरुका सर्मथकका क्रियाकलापहरु यस्तै हुन्छन् । यसमा धेरै नजाउँ, छोडिदिउँ ।’
आफूहरु देश बनाउने आफ्नै अभियानमा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया