
काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई नियामकीय भूमिका बुझेर काम गर्न पूर्व अध्यक्षहरुले सुझाव दिएका छन् ।
पूर्व अध्यक्षहरुसँग सोमबार भएको छलफलमा उनलाई समग्र बीमा क्षेत्रलाई सुव्यवस्थित रूपले अगाडि बढाउन विगतका अनुभव, चुनौतीहरूको सामना गर्न विगतमा चालिएका कदम, समस्याहरूको समाधानका लागि गरिएका काम र बीमा क्षेत्रको अपेक्षा लगायतका विषयमा सुझाव दिइएकाे थियो ।
बीमा प्राधिकरणमा आयोजित भेटघाट एवम् छलफल कार्यक्रममा प्राधिकरणका पूर्व अध्यक्षहरू माधव प्रसाद उपाध्याय, देवेन्द्र प्रताप शाह र प्रा.डा. फत्तबहादुर के.सी. सहभागी थिए । कार्यक्रममा पूर्वअध्यक्षहरूले बीमा ऐन र नियमले प्राधिकरणको नेतृत्वलाई बलियो बनाएको उल्लेख गर्दै प्राधिकरणको प्रतिष्ठालाई उच्च बनाउने आफ्नो मूल दायित्व ठानेर निडर भई इमान्दारिताका साथ अगाडि बढ्न सुझाव दिए ।
प्राधिकरणको नियामकीय भूमिकालाई राम्रोसँग बुझेर अगाडि बढ्न र नचाहिने कुरामा नझुक्न उनिहरुको सुझाव थियो । राजनीतिक हस्तक्षेप हुन नदिन, बीमा कम्पनीहरूलाई नचाहिने काम गर्न नदिन, नहुने कामलाई सिधै ‘हुन्न’ भन्न र आफ्नो विवेकलाई ध्यानमा राखेर काम गर्न उनिहरुको सुझाव थियो ।
तत्काललाई केही नोक्सान भए पनि राम्रो काम गर्न नछाड्न र संस्थाको हितमा निर्धक्कसँग काम गर्न नियामकीय भूमिका बुझेर काम गर्न बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पूर्व अध्यक्षहरुको सुझाव अध्यक्षरुले सुझाव दिए ।

प्राप्त सूचनाहरूको पुष्टि गरेर मात्र अघि बढ्न, बीमा क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरूलाई नियन्त्रण गर्न, बीमा व्यवसायका लागि उपयुक्त वातावरण बनाउन, प्राधिकरणको नियामकीय भूमिकालाई सशक्त बनाउन र कसैको भनाईमा नभएर ऐन तथा नियम अनुसार काम गर्न प्राधिकरणका पूर्वअध्यक्षहरूले सुझाव दिए ।
प्राधिकरणका अध्यक्ष ओझाले विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै थप असल अभ्यासका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष ओझाले बीमा क्षेत्रलाई सुव्यवस्थित बनाउने सन्दर्भमा विगतका सुझबूझपूर्ण अनुभव, चुनौतीहरूको सामना गर्न तथा समस्याहरू समाधान गर्न चालिएका कदम, प्राधिकरणको नियामकीय भूमिका र बीमा बजारमा आवश्यक हस्तक्षेप लगायतका विषयमा विगतका अनुभवहरूका बारेमा जानकारी लिने छलफल गरेको बताए ।
विगतका सुझबुझपूर्ण अनुभवहरूलाई मार्गदर्शकका रूपमा लिएर अगाडि बढ्ने उनले प्रतिवद्धता जनाए । अध्यक्ष ओझाले सरकार र बीमा क्षेत्रको अपेक्षा अनुरूप समग्र बीमा क्षेत्रलाई सुव्यवस्थित, नियमित र स्वच्छ प्रतिस्पर्धी बनाउनका लागि आवश्यक निर्णय लिन पूर्वअध्यक्षहरूबाट प्राप्त अनुभवबाट सहज हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया