११ प्रतिशत होटल रेष्टुरेन्टले मात्रै चलाउँछन् बैंकको २ खर्ब ऋण
होटल क्षेत्रमा लगानी २ खर्ब १६ अर्ब
देशैभर रहेका १ लाख ४२ हजार आवास तथा भोजन सेवाप्रवाहका प्रतिष्ठान (आतिथ्यता उद्योग) भए पनि यो क्षेत्र सञ्चालन गर्न ऋण लिनेको संख्या भने न्यून छ । होटल रेष्टुरेन्टहरुमध्ये ७२ प्रतिशत ऋणको पहुँच बाहिर रहेको तथ्यांकले देखाएको छ ।
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका होटल रेष्टुरेन्टमध्ये ११ प्रतिशतले मात्रै वाणिज्य बैंकको २ खर्ब ऋण चलाउने गरेका छन्।
आतिथ्यता सेवामा खटिएका १ लाख ४२ हजार होटल रेष्टुरेन्ट मध्ये बैंकहरुको ऋण चलाउने होटल रेष्टुरेन्टको संख्या १६ हजार १५७ मात्रै रहेको छ । यसका आधारमा बैंकहरुबाट ऋण चलाउनेको संख्या ११.३६ प्रतिशत मात्रै छ ।
सञ्चालनमा रहेका होटल रेष्टुरेन्टमा भएको कुल लगानी भने २ खर्ब १६ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।
यो लगानीबाट उनीहरुको सेवा (वर्षिक कारोबार) उत्पादन भने ३ खर्ब २६ अर्ब रुपैयाँ बराबरको हुने गरेको छ ।
कुल होटल तथा रेष्टुरेन्ट मध्ये बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको संख्या भने २८ प्रतिशतले मात्रै छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार देशभर रहेको आवास तथा भोजन सेवा सम्बन्धित प्रतिष्ठानमध्ये ४० हजार ३३२ वटाले मात्रै ऋण लिएका छन् । यसमध्ये बैंकबाट ऋण लिने तारे होटल १६ हजार वटा छन् ।
यस्तो तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी ऋण चलाउने पर्यटनको निकाय होटल रेष्टुरेन्ट नै हो । ऋण चलाउने होटल रेष्टुरेन्टमध्ये ठूलो मात्रामा तारे होटल र सानो मात्रामा रेष्टुरेन्टसहितका निकाय भएको देखिएको छ । ऋणको आकारका हिसावले भने तारे होटलकै हिस्सा बढी हुने गरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षण अनुसार देशैभर आर्थिक वर्ष २०७९/८० सम्ममा १०१ तारे होटल छन् । यो समयसम्ममा तारारहित होटलको संख्या ५ हजार २३७, रेष्टुरेन्टको संख्या ३४ हजार २५ देखिएको छ ।
नेपालमा रहेका १ लाख ४२ हजार होटल तथा पर्यटन क्षेत्रमध्ये तारे होटल र रेष्टुरेन्टसहित बैंकबाट ऋण लिइरहेकाको सख्या ४० हजार छ। बाँकी १ लाख १ हजार ८९१ निकायले ऋण लिएका छैनन् ।
ऋण नलिएका होटल तथा रेष्टुरेन्ट प्रतिष्ठानको हिस्सा ७२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने गरेको मासिक तथ्यांक अनुसार हाल पर्यटन क्षेत्रमा २ खर्ब ४१ अर्ब रुपैयाँ विभिन्न वाणिज्य बैंकले ऋण प्रवाह गरेका छन् । यस्तो ऋणमध्ये होटल तथा रेष्टुरेन्ट क्षेत्रको हिस्सा ९० प्रतिशत भएको अनुमान गरिएको छ ।
यस आधारमा हाल २ खर्ब रुपैयाँ ऋण होटल तथा रेष्टुरेन्टले विभिन्न वाणिज्य बैंकबाट लिएको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार बैंकबाट ऋण लिने आतिथ्यता उद्योगको संख्या हाल १६ हजार १५७ रहेको देखिएको छ ।
फाइनान्सबाट ऋण लिने २ हजार २९५, माइक्रोफाइनान्सबाट ५ हजार ४३५ र सहकारीकाबाट ऋण लिने ११ हजार ८ होटल तथा रेष्टुरेन्ट रहेको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार बैंक ऋणसम्म पहुँच पुर्याउने तारे होटलको संख्या ९९ वटा मात्रै छ । समग्रमा तारे होटलको संख्या भने १०१ वटा रहेको छ ।
बैंकबाट ऋण लिने रेष्टुरेन्टको सख्या १२ हजार १६६ रहेका छन् । बैंकबाट ऋण लिने गैरतारे होटलको संख्या ३ हजार ३४२, रिसोर्ट ८४ वटा रहेका छन् ।
पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी नेपाल इन्भेष्टमेन्ट बैंकको, कुनको कति ? (सूचीसहित)
नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको छ । नेपालको पर्यटन क्षेत्रमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानी २ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ ।
नेपालको पर्यटन क्षेत्रमा समग्र बैंक तथा वित्तीय संस्थाले औषतमा १० प्रतिशतको हाराहारीमा लगानी रहेको सम्बन्धित बैंकहरुको वित्तीय विवरणमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालका बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा गत वर्षको सोही कात्तिक मसान्तसम्ममा २ खर्ब २१ अर्ब रुपैयाँ लगानी गरेका थिए ।
तथ्यांकअनुसार नेपालको पर्यटन क्षेत्रमा पछिल्लो एक वर्षमा २० अर्ब रुपैयाँ मात्रै लगानी थपिएको छ । पछिल्लो समय होटल क्षेत्रमा लगानी आक्राम भइरहेकोले पनि यही विधामार्फत पर्यटन क्षेत्रमा लगानी बढेको हो । पर्यटन क्षेत्रमा होटलको योगदान ९० प्रतिशतभन्दा बढी रहेको पनि सम्बन्धित व्यवसायीले बताएका छन् ।