निजी क्षेत्र र सरकारको सयुक्त लगानीमा ३ अर्बको प्रसारणलाइन निर्माण हुँदै, मंगलबार सम्झौता

504
Shares

काठमाडौं । निजी क्षेत्र र सरकारको संयुक्त लगानीमा पहिलोपल्ट प्रसारणलाइन निर्माण हुने भएको छ । तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइन निजी क्षेत्रसहितको लगानीमा निर्माण हुन लागेको हो ।

मंगलबार राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ६ वटा प्रवर्द्धक कम्पनीबीच एमओयु हुन लागेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा मंगलबार एमओयु गर्ने तयारी भएको छ ।

उत्पादन अनुमति पाए पनि अहिलेसम्म निजी क्षेत्रले प्रसारणलाइन निर्माणको अनुमति पाएको छैन । यो एमओयुसँगै निजी क्षेत्रको लगानीमा पहिलोपल्ट कमर्सियल प्रसारणलाइन निर्माण हुने भएको छ ।

यो प्रसारणलाइन निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनामा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ७० प्रतिशत ऋण दिनेछ । बाँकी ३० प्रतिशत इक्विटी निजी क्षेत्रका प्रवर्द्धक कम्पनीहरुबाट जुटाइनेछ ।

यो प्रसारणलाइनले करिब ७०० मेगावाट विद्युत वहन गर्न सक्छ । ७७.५ मेगावाटको घुन्सा खोला र ७०.३४ मेगावाटको सिम्बुवाखोला जलविद्युत आयोजना एचआईडीसीएल, विद्युत उत्पादन कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणले साझेदारीमा निर्माण गर्न लागेका छन् । यो आयोजनाहरु आगामी वर्षबाट निर्माण लैजाने तयारी छ ।

१६६ मेगावाटको सुपर तमोर निर्माणको तयारी छ । प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ र ७ भएर बग्ने तमोर नदीमा निर्माण हुनेछ ।

क्रिष्टल पावर डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो ।  क्रिष्टलपावर, रेमिट हाइड्रो, सिम्बुआ रेमिट हाइड्रोसहित निजी क्षेत्रका ६ प्रवर्द्धक कम्पनीसँग एमओयु गर्न लागिएको हो । यो एमओयुपछि सयुक्त कमपनी निर्माण हुनेछ । यी  निर्माण हुन लागेका आयोजनाहरु यहि प्रसारणलाइन भएर राष्ट्रिय प्रसारण प्रणालीमा आउनेछ ।

सयुक्त कम्पनीमा एचआईडीसीएल र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको ४५ प्रतिशत इक्विटी हुनेछ । भने निजी क्षेत्रको ५५ प्रतिशत हुनेछ । कम्पनीलाई निर्णय गर्न सजिलो होस् भन्नका लागि निजी क्षेत्रलाई ५५ प्रतिशत सेयर दिइएको हो । ‘सरकारी स्वामित्व धेरै भयो भने कम्पनीले कामै गर्न सक्दैन । झन्झटिलो प्रक्रियामा फस्नुपर्छ । त्यहि भए बहुमत सेयर निजी क्षेत्रको राखेका हौं,’  राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका एक इन्जिनियरले भने, ‘यो मोडल सफल भएपछि अरु प्रसारणलाइन समेत निर्माण गर्न सकिन्छ ।’

तमोर नदीको बेसिन हुँदै दोभान ढुंगेसाँघु प्रसारणलाइनको एलाइन्टमेन्ट छ । ताप्लेजुङभित्र नै पुरै प्रसारणलाइन निर्माण हुनेछ ।  विस्तृत अध्ययन भएको यो प्रसारणलाइन ताप्लेजुङको लेलेप (मार्गेन) देखि ढुंगेसाँघुसम्म निर्माण हुनेछ। तापेथोकमा तमोर सबस्टेसन निर्माण हुनेछ । यो सबस्टेसन २२०/१३२ केभी क्षमताको हुनेछ । ढुंगेसाँघुमा नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ । त्यहाँबाट इनरुवासम्म प्रसारणलाइन निर्माण भएको छ ।

यी बेसिनका विदयुत भविष्यमा भारतमा समेत निर्यात गर्न सक्ने सम्भावना छ । इनरुवा पुर्निया ४०० केभी प्रसारणलाइन निर्माण हुन लागेको छ ।

अहिले ढल्केबर-मुजफ्फरपुर ४०० केभी लाइनमार्फत मात्रै विद्युत भारत निर्यात हुन्छ । सयुक्त रुपमा निर्माण हुन लागेको यो प्रसारणलाइनको सुरुवाती विन्दु तमोर सबस्टेसन हो भने अन्तिम विन्दु ढुंगेसाँघु सबस्टेसन हो । प्रसारणलाइन करिब ३० किमी हुनेछ ।

नेत्र ज्ञवाली

एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतम र राष्ट्रिय प्रसारण कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीको सयुक्त पहलमा सयुक्त कम्पनी बनाएर प्रसारणलाइन निर्माण गर्न लागिएको हो ।

अर्जुन कुमार गौतम

यो संयुक्त कम्पनी निर्माण भएपछि एचआईडीसीएलले प्रसारणलाइनमा पनि लगानी हुनेछ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले बिजनेस पाउनेछ । ६ वटा प्रवर्धक कम्पनीले छुट्टा छुट्टै लाइन बनाइरहनुपर्दैन । एउटै लाइन बनाए पुग्छ । जसले कम्पनीहरुको प्रसारणलाइनमा हुने खर्च जोगिन्छ । वातावरणीय प्रभाव समेत कम हुन्छ ।