चिचिला र सिलिचोङ गाउँपालिकामा कपडा बैंक स्थापना
काठमाडौं । संखुवासभाको दुर्गम चिचिला गाउँपालिका र सिलिचोङ गाउँपालिकामा ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ अभियान मार्फत् कपडा बैंक स्थापना गरिएको छ ।
जाडोयाममा दुर्गम क्षेत्रका बालबालिकाले न्यानो कपडा लगाउन नपाइरहेको अवस्था मध्यनजर गर्दै ओपन खबर मिडियाका संचालक मोहनकृष्ण अधिकारीको संयोजनमा ती पालिकामा कपडा बैंक स्थापना गरिएको हो ।
जहाँ सेकेन्ड ह्यान्ड कपडाहरु राखिन्छ । बैंकबाट गाउँलेहरुले कपडा लैजान सक्छन् र अरुले कपडा ल्याएर राख्न पनि सक्छन् । विभिन्न देशमा कपडा बैंक प्रचलित भए पनि नेपालमा भने यसको प्रचलन कमै मात्र छ । संखुवासभाका दुई पालिकामा भने कपडा बैंक स्थापनासँगै कपडा बैंकमा कपडा लैजान गाउँलेहरुको भीड नै लागेको थियो ।
कपडा बैंकमा कम्तीमा ३० बोरा कपडाहरु राखिएको पनि अधिकारीले जानकारी दिए । ‘चिसो सिरेटो, एकसरो विद्यालय पोशाकमा दिनभरको पढाइ पक्कै सहज छैन । कठिन अवस्थाहरुसँग जुध्दै जीवनको नवीनतम सपना साकार पार्न प्रतिबद्ध बालबालिकाको शरीरमा न्यानो कपडाको खाँचो छ । जीवनमा भएर पनि दिन नजान्नेहरुको जमात बढिरहेको समयमा हामी सहयोगी मनहरुको साथलाई जोड्दै संखुवासभा जिल्लाको बिकट चिचिला र सिलिचोङ गाउँपालिका पुगेका हौं,’ ओपन मिडियाका संचालक तिमिल्सिनाले भने, ‘काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट संकलन गरिएको करिब ३० बोरा न्यानो कपडा २५ सय जनालाई पुग्ने गरी वितरण गरिएको हो ।’
अधिकारीका अनुसार यस अभियानका लागि स्थानीय जनप्रतिनिधिसहित थुप्रै मानिसहरुले साथ र सहयोग गरेका छन् । यस अभियानमा अनुराग कुँवर, सुरेश मानसिंह कुँवर, कृष्णराज तिमिल्सिना र रामेश्वर ढकाल लगायतले पनि कपडा संकलनका लागि सहायता गरेका थिए ।