रवि लामिछानेको मानव अधिकार रक्षा गर्न सांसद शाहीको माग, कांग्रेस नेता कोइरालाको पनि आपत्ति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न सरकारसँग माग गरेका छन् । सांसद शाहीले सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् ।
राप्रपाको प्रमुख सचेतकसमेत रहेका शाही शनिबार मानवअधिकारकर्मी तुलिसी थापा सहित पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेर लामिछानेसँग भेटघाट गरेका थिए । शाहीले मानव अधिकारको गम्भिर उल्लंघन गरी कसैले पनि राज्य आतंक मचाउन नपाउने बताएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस । कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो यसको मतलब राज्य आतंकमा लाग्नु होइन ? प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्णस्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुन्छ। कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन,’ सामाजिक सञ्जालमा उनले भनेका छन, ‘यदि यस्तो गरेको खण्डमा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको ठहरिनेछ। अन्यथा राज्य सञ्चालन गरिरहेका सञ्चालकहरू मानव अधिकारको गम्भीर उल्लङ्घन गरेर राज्य आतंक मचाउँछु भन्ने सोच राखेका छन् भने त्यो दिवा सपना मात्रै हो एकदिन सबैको पालो आउँछ पाई -पाई गरेर ऋण चुक्ता गरिनेछ।’
राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो : कांग्रेस नेता कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले रास्वपा सभापति लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाएका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राति १२ बजे उठाएर लैजानु अमानवीय व्यवहार भएको बताए ।
उनले भने, ‘नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छ । रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ । त्यसमा मेरो केही भन्नु छैन, तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो । यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि गर्न हुँदैन । यो त हाम्रो लोकतान्त्रिक देश हो । त्यो विल्कुल गलत हो ।’
शुक्रबार दिनभर चितवनमा बयान भएपछि सोहि मध्य राति लामिछानेलाई प्रहरीले पोखरा पुर्याएको थियो ।