विकास र लगानीलाई रोक्नु देशको आर्थिक सम्मृद्धि अवरुद्ध गर्नु होः अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा अहिलेको पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दूस्चक्रमा पार्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैलाई आह्वान गरे ।

‘नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पुर्‍याउने सोच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ,’ अध्यक्ष ढकालले भने ।

मुलुकमा विकास पूर्वाधार, विशेषगरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको भन्दै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने बताएका थिए । ‘हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो । तर अहिले त्यो क्षेत्र समृद्ध छ । स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तब्य पाएको छ’ उनले भने ।

ताप्लेजुङमा पाथीभारा मन्दिरमा केबल कार निर्णको क्रममा अवोध भइरहँदा अध्यक्ष ढकालको यस्तो प्रतिक्रिया आएको हो । ढकालले गण्डकी प्रदेश र गैँडाकोटको विकासको सम्भावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका थिए । उनले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको समेत बताए ।

हालै नेपाल चीन कोरोला नाका पुगेर आएको प्रसंग उठाउँदै उनले म्याग्दीदेखि कोरोलासम्मको बाटो स्तरोन्नति गर्ने हो भने कालीगण्डकी कोरिडोरले विश्वका दुई ठूला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र सम्मृद्धिमा प्रमुख भूमिका खेल्न सक्ने बताएका थिए ।

‘म यो दशैँ लगत्तै कोरोलासम्म पुगेर आएँ । कोरोला नाकादेखि सुनौली नाकासम्म पनि गाडीमै पुगेँ । बाटोको सुविधाले पहिलेभन्दा निकै सहज भइसकेको रहेछ । बाटोको स्तरोन्नति गर्दै कोरोला नाकामा केही पूर्वाधार विकास गर्न सके, यो नाका दुई मुलुकलाई जोड्ने छोटो र सहज नाका बन्न सक्छ । हाम्रो गण्डकी प्रदेशले पनि ठूलै फाइदा लिन सक्छ । यसमा प्रदेश सरकारले विशेष ध्यान दिओस्,’ उनले भने ।

आफू महासंघको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको भन्दै उनले वैदेशिक लगानी भित्र्याउन महासंघले पहल गरिरहेको बताए । प्रदेश सरकार तथा स्थानीय तहका नेतृत्वलाई आफ्नो कार्यकालको मूल्याङ्कन आफूले गरेको कामको नतिजाबाट गर्न पनि उनले आग्रह गरे ।

‘हामीले आफ्नो कार्यकालमा कुन कुन नीति, नियमहरु परिवर्तन गरी लगानीमैत्री वातावरण बनाउने काम गर्‍यौं, कुन कुन आयोजना सुरु गर्‍यौं वा कुन कुन आयोजना सम्पन्न गर्‍यौं । त्यसले नै हाम्रो सफलता वा असफलताको संकेत गर्नेछ । त्यसैले हामीले नतिजा निकाल्ने गरी काम गर्न आवश्यक छ,’ उनले भने ।

मुलुकमा बढ्दै गएको नैराश्यतालाई चिर्न र विभिन्न सम्भावित आयोजनामा लगानी गर्न नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको र यसले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका थिए ।


क्लिकमान्डु