नेपाल बैंकले २ वर्षसम्म निर्णय नगर्दा २७५ करोड तिरेर फूलबारी रिसोर्ट चलाउने अमात्यको योजना अलपत्र



काठमाडौं । नेपाल बैंकले निर्णय नगर्दा २ अर्ब ७५ करोड रुपैयाँ तिरेर ऋण फूलबारी रिसोर्ट सञ्चालन गर्ने पियूषबहादुर अमात्यको योजना अलपत्र परेको छ ।

लामो समयदेखि बन्द रहेको पोखराको पाँचतारे होटल फूलबारी रिसोर्टका सञ्चालक अमात्यले २ वर्षअघि नै २ अर्ब ७५ करोड रुपैयाँ तिरेर फेरि सञ्चालन गर्ने प्रस्तावमा नेपाल बैंकले निर्णय दिन नसक्दा उनको योजना अलपत्र बनेको हो ।

‘ऋण तिरेर होटल चलाउँछु भन्दा पनि बैंकले २ वर्षदेखि झुलाइरहेको छ’ अमात्यले क्लिकमान्डुसँग भने ।

नेपाल बैंकको कन्सोल्टियम लिडमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी संचय कोषले फुलबारी रिसोर्ट सञ्चालनका लागि आर्थिक वर्ष २०५२ सालमा १ अर्ब ३१ करोड रुपैयाँ लगानी गरिएको थियो ।

उक्त ऋण असूल नभएपछि बैंकले पटक पटक लिलामीको प्रक्रिया अघि बढाए पनि अमात्यले रोक्दै आएका थिए । पछिल्लो पटक होटल लिलामी गर्ने निर्णय गर्दै नेपाल बैंकले ३ असार २०७९ मा ३५ दिने सूचना जारी गरेको थियो । यो होटलबाट बैंकले असूल गर्नुपर्ने रकम ३ अर्ब रुपैयाँभन्दा धेरै भइसकेको बैंकको दाबी छ ।

त्यतिबेला फूलबारी रिसोर्टलाई लिलामीमा लैजाने नेपाल बैंकको निर्णय विरुद्ध अमात्य पाटन पुुनरावेदन अदालत गएका थिए । अदालतले ५ साउन २०७९ मा रिसोर्टको लिलामी प्रक्रिया रोक्न आदेश दिएका कारण एउटा प्रस्ताव परेको भए पनि प्रक्रिया अगाडि बढेन ।

अमात्यले नेगोसिएसनमा ऋण तिर्ने र होटलसहितको सम्पत्तिको लिलामी गर्न नहुने तर्क गर्दै आएका थिए । होटल तत्कालाई लिलामी गर्नबाट रोकिएपछि अमात्यले २ अर्ब ७५ करोड रुपैयाँ तिर्न तिरेर सल्ट्याउन चाहेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले बताए।

‘अमात्यजीले २ अर्ब ७५ करोड रुपैयाँ तिरेर फेरि होटल चलाउने प्रस्ताव ल्याउनुभएको छ, यस विषयमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषको व्यवस्थापनसँग कुरा भइसकेको छ, उहाँहरु सहमत हुनुहुन्छ तर हाम्रो बैंकको सञ्चालक समितिलाई जानकारी पनि गराएका छौं तर अहिलेसम्म निर्णय हुन सकिरहेको छैन,’ पाण्डेयले क्लिकमान्डुसँग भने ।

अमात्यको प्रस्तावमाथि केन्द्रित भएर अहिलेसम्म नेपाल बैंकको सञ्चालक समिति बसेको छैन । जसकारण २ वर्षदेखि फूलबारी रिसोर्टसम्बन्धी अमात्यको प्रस्ताव अलपत्र परेको अवस्थामा छ ।

‘अमात्यको प्रस्तावपछि पटक–पटक उनीसँग भेट भएको छ । सकारात्मक हिसाबले छलफल भइरहेको छ । अहिले पनि अमात्यजी र हाम्रो नियमतिजसो सम्पर्क भइरहेको छ, उहाँले छिटो टुंगो लगाइदिनु पर्यो भनिरहनुभएको छ,’ सीईओ पाण्डेयले भने– ‘हामी छलफलबाटै टुंगो लगाउने पक्षमा छौं । मैले अमात्यजीलाई बोलाएर कुराकानी गर्न बैंकको असूली विभागलाई निर्देशन दिइसकेको छु ।’

नेपाल बैंकले फूलबारी रिसोर्टको नाममा रहेको घरजग्गा तथा रिसोर्टका अमात्यको नाममा रहेको घरजग्गा लिलामीमा गर्न चाहेको थियो । फूलबारी रिसोर्ट ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । यसको बजार मूल्य भने ४ अर्ब रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ ।

सहवित्तीयकरणको नेतृत्व गरेको नेपाल बैंकको सञ्चालक समितिले निर्णय गर्न नसक्दा अहिलेसम्म अमात्यको प्रस्ताव त्यतिकै थन्किएको राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्र रमण खनालले क्लिकमान्डुलाई बताए ।

सन् १९९८ मा नेपालले पहिलो पटक नेपाल भ्रमण वर्ष मनाएको व्यवसायी पियुसबहादुर अमात्यले पोखरामा ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वर्ल्ड’ भन्ने थिममा फूलबारी रिसोर्ट खोलेका थिए । रिसोर्ट ४ सय रोपनी जग्गामा फैलिएको थियो । रिसोर्टमा १ सय ६५ कोठा थिए ।

तर रिसोर्टसँगै शुरु भएको माओवादीको सशस्त्र द्वन्द्व र २०५८ सालमा राजदरबार हत्याकाण्डको असर रिसोर्ट बन्द हुने कारक बन्यो । रिसोर्ट सञ्चालन हुँदा तत्कालीन समयमा यसलाई दक्षिण एशियाकै शानदार रिसोर्टका रुपमा ब्याख्या गरिएको थियो । रिसोर्ट अवस्थित भौगोलिक अवस्था र सेवा सुविधाले यसलाई तत्कालीन समयको निकै लक्जरियस रिसोर्ट बनाएको थियो ।

तर माओवादीको आतंकका कारण पर्यटक आगमनमा कमी आयो । सन् १९९४ सालमा ३ लाख २६ हजार विदेशी पर्यटक आएकोमा त्यसपछि उल्लेख्यरुपमा संख्या वृद्धि हुन सकेन् । १९९७ मा विदेशी पर्यटकको संख्याले ४ लाखको आँकडा पार गरे पनि ५ लाखको आँकडा पार गर्न सन् २००७ सम्म पर्खनु पर्यो । यसले रिसोर्ट सञ्चालन अपेक्षाकृतरुपमा हुन सकेन ।

अर्को कारण थियो, राजदरबार हत्याकाण्ड । अमात्य परिवार पुर्खादेखि नै धनीमानी परिवारमा गनिन्थे । यतिसम्म कि उनीहरुको हैसियत राज्यलाई आवश्यक परेको समयमा ऋण दिने र राजपरिवारका सदस्यहरुलाई विदेश भ्रमणको सम्पूर्ण खर्च बेहोर्थे । तर २०५८ सालमा राजपरिवारमा राजा बीरेन्द्र र उनको सम्पूर्ण परिवारको हत्या भएपछि अमात्यलाई व्यवसायिकरुपमा पनि धक्का लाग्यो । वीरेन्द्रसँग उनको सम्बन्ध निकै सुमधुर थियो ।

त्यसपछि २०६२/६३ को परिवर्तनपछि मजदुर आन्दोलनको कारण सेवा स्थगित गरेको रिसोर्ट आजसम्म पनि सञ्चालन हुन सकेको छैन् ।

रिसोर्ट बन्द भयो अमात्यले बैंकको ऋण तिर्न सकेनन् । फलस्वरुप बैंकले कालोसूचीमा राख्यो । तर २०६५ साल वैशाख महिनामाअमात्यले जसरी पनि रिसोर्ट सञ्चालन गर्ने आश्वासन दिएपछि नेपाल बैंकले कालोसूचीबाट हटाउँदै सोही वर्षको जेठ महिनामा ऋण असुली न्यायाधिकरणबाट समेत मुद्दा फिर्ता लियो ।

तर, रिसोर्ट सञ्चालन हुन सकेन । अमात्यले ऋण सल्टाउन गरेको प्रयासले काम गरेन ।

त्यसको ६ वर्षपछि नेपाल बैंकले १५ दिने सूचना र २०७२ सालमा ३५ दिने सूचना प्रकाशित गर्यो । तर अमात्यले ऋण तिर्न कुनै चासो देखाएनन् ।

उसो त अमात्यले २०७३ सालमा साँवा मात्रै बुझाउने प्रस्ताव पेश नगरेका होइनन् । रुग्ण उद्योगका रुपमा साँवा वापतको १ अर्ब ३१ करोड रुपैयाँ लिएर बैंक समक्ष पुगेका अमात्यको प्रस्ताव बैंकका लागि स्वीकार्य हुने कुरै भएन । त्यसैले उनको त्यो प्रस्ताव त्यत्तिकै तुहियो ।

नेपाल बैंकले उक्त ऋणलाई २०७६ सालमा पुनसंरचना गर्यो । र, साँवा १ अर्ब ३१ करोड र साधारण ब्याज मात्रै २ अर्ब ३६ करोड रुपैयाँ गरी कुल ३ अर्ब ४७ करोड रुपैयाँ निस्कियो ।
त्यसपछि अमात्यले रिसोर्ट सञ्चालन गर्ने तर यसका लागि थप २५ करोड रुपैयाँ थप ऋण आवश्यक भएको प्रस्ताव बैंक समक्ष पेश गरे ।

बैंकहरुलाई पनि लामो समयपछि समस्या समाधान हुन्छ र रिसोर्ट सञ्चालन हुन्छ भने किन नगर्ने भन्ने लाग्यो र थप केही समय दिने निर्णय गरे

लामो समयसम्म पनि रिसोर्ट सञ्चालनमा नआएपछि अमात्य र बैंकबीच पटक–पटक कैयन छलफल भए । तर निचोड निस्कन सकेन । नेपाल बैंकले पछिल्लो समय निकालेको लिलामीमा बोलकबोल नपरेपछि अमात्यले नै २ अर्ब ७५ करोड रुपैयाँ तिरेर रिसोर्ट सन्चालनको प्रस्ताव राखेका हुन् ।


राजु बास्कोटा