ट्रम्पको जितमा तालिबान सरकारको प्रतिक्रिया: युद्ध अन्त्य गर्ने अपेक्षा



एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पको जितबारे अफगानिस्तानको तालिबान सरकारले प्रतिक्रिया दिएको छ । तालिबान सरकारले अमेरिका र अफगानिस्तानबीच द्विपक्षीय सम्बन्धमा ठोस प्रगति सुनिश्चित हुने अपेक्षा व्यक्त गरेको छ ।

तालिबान सरकारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ट्रम्पको विजयले दुई पक्षीय सम्बन्ध सुध्रने अपेक्षा गरेको हो । अमेरिकाको नयाँ सरकारले अफगानिस्तानप्रति व्यवहारिक दृष्टिकोण राख्ने पनि तालिबान सरकारको अपेक्षा छ । साथै दुई देशबीच सम्बन्धको नयाँ यात्रा सुरु हुनसक्ने तालिबान सरकारले जनाएको छ ।

यसैगरी ट्रम्पले विश्वभर चलिरहेको संघर्ष र विशेषगरी गाजा र लेबनानमा चलेको युद्ध अन्त्य गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नसक्ने तालिबान सरकारले जनाएको छ ।

२०१६ मा पनि ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका थिए । २०२० मा भने दोस्रो कार्यकालका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्दा उनी डेमोक्रेटिकका नेता जो बाइडेनसँग पराजित भएका थिए ।

यसपटक डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प विजयी बनेका हुन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने पनि घोषणा गरेका थिए ।


क्लिकमान्डु