बढ्यो काठमाडौं उपत्यकामा वायु प्रदूषण
काठमाडौं। काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ ।
तिहारको अवसरमा पटाखाआदी पडकाउँदा निस्किएको धुँवाका कारण उपत्यकामा वायु प्रदूषण बढेको हो । यसका साथै भारतका साथै पाकिस्तानमा बाली काटिसकेपछि खेतमै आगो लगाउँदा निस्किएको धुवाँ हावाको वेगसँग काठमाडौँ आइपुगेकाले पनि वायु प्रदूषण बढेको बिज्ञहरुले बताएका छन् । उपत्यकाको तापक्रम घट्दा कणहरू वायुमण्डलमै रहेकाले पनि वायु प्रदूषण बढेको विज्ञहरूको दाबी छ ।
वायु गुणस्तर सूचकाङ्क (एअर क्वालिटी इन्डेक्स- एक्युआई) अस्वस्थकर भएको छ । शनिवार बिहान साढे ११ बजे काठमाडौंस्थित अमेरिकी दूतावासको एअर पोलुसन स्टेसन अनुसार काठमाडौँको एक्युआई १६५ छ अर्थात यहाँको वायुको गुणस्तर अस्वस्थकर रहेको पाइएको छ ।
सामान्यतः एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले बुझिन्छ । ५१ देखि एक सयसम्मको एक्युआईलाई ‘होसियार बस्नु’ अर्थात पहेँलो सङ्केतले चिनिन्छ। त्यस्तै १०१ देखि १५० सम्मलाई अस्वस्थ, जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ।
१५१ देखि २०० सम्मको एक्युआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० सयलाई धेरै अस्वथ मानिन्छ। काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ।