भारतका १९ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध, युक्रेन युद्धसँग भारतीय कम्पनीको के सम्बन्ध ?
एजेन्सी । यही अक्टोबर ३० मा अमेरिकाले भारतका १९ कम्पनीहरुमाथि प्रतिबन्ध लगायो । त्यससँगै अरु दुई जना भारतीय नागरिकमाथि पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।
यसका लागि अमेरिकाको आरोप के छ भने भारतले युक्रेनमा रुसको युद्ध प्रयासमा सहयोग गरेको थियो ।
अमेरिकामा सिख अलगाववादी नेता गुरपतवन्त सिंह पन्नुको हत्यामा भारतीय नागरिकको संलग्नता रहेको भन्दै आरोपपछि दुई देशबीच उत्पन्न तनाबका बीच अमेरिकाले भारतविरुद्ध नयाँ कदम चालेको हो ।
२४ अक्टोबरमा टाइम्स अफ इन्डियामा एक अन्तर्वार्ता प्रकाशन भएको थियो जहाँ भारतस्थित अमेरिकी राजदूत एरिक गार्सेटीले पन्नुको हत्याका दोषीमाथि कारबाही गरेपछि मात्रै अमेरिका सन्तुष्ट हुने प्रतिक्रिया दिए ।
यस्तैमा अमेरिकाले जारी गरेको विज्ञप्तिमा अमेरिकी विदेश विभाग आर्थिक विभाग तथा वाणिज्य विभागले प्रतिबन्ध लगाइएका व्यक्ति तथा कम्पनीको सूची सार्वजनिक गरिएको छ । जहाँ भारतसँगै चीन, मलेसिया, थाइल्यान्ड, टर्की र युएईसहितका देशहरु पनि समावेश छन् ।
अमेरिकाको आरोप के छ भने ती कम्पनीहरुले युक्रेन युद्धका लागि सहयोगी हुने सामग्री रुसलाई सहयोग गरिरहेका छन् । ती वस्तुमध्ये माइक्रो इलेक्ट्रोनिक्स तथा कम्प्युटर न्युमेरिकल कन्ट्रोल आइटम पनि परेको छ ।
भारतीय कम्पनीमाथि प्रतिबन्ध
त्यसो त अमेरिकाले अमेरिकी कम्पनीहरुमाथि यसरी प्रतिबन्ध लगाएको यो पहिलो घटना भने हैन । यसअघि २०२३ मा पनि एक भारतीय कम्पनीमाथि रुसी सेनालाई सहयोग गरेको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।
अमेरिकी विदेश विभागले तयार पारेको १२० कम्पनीको सूचीमा भारतीय चार कम्पनीमाथि लगाइएको आरोपको विवरण पनि सार्वजनिक गरिएको छ । ती चार कम्पनीमा एसेन्ड एभिएसन इन्डिया प्रालि, मस्क ट्रान्स, टीएसएमडी ग्लोबल प्रालि र फुट्रेवो कम्पनी पनि छन् ।
यस्तै एसेन्ड एभिएसनमाथि मार्च २०२३ र मार्च २०२४ को अवधिमा रुसस्थित कम्पनीहरुलाई सिपमेन्ट पठाएको आरोप छ । र यसमा करिब १ करोड ७० लाख भारतीय रुपैयाँभन्दा बढी मूल्य सिएचपीए वस्तुहरु समावेश थिए ।
यसैगरी मास्क ट्रान्स कम्पनीले जुन २०२३ देखि अप्रिल २०२४ को बीचमा २ करोड ५० लाख भारतीय रुपैयाँको वस्तु पठाएको र ती वस्तु रुसले एभिएसनसँग सम्बन्धित काममा प्रयोग गरेको विदेश विभागको आरोप छ ।
यस्तै टिएसएमडी ग्लोबल प्रालि कम्पनीले ३ करोड ६० लाख भारतीय रुपैयाँभन्दा धेरै सामान रुसी कम्पनीलाई दिएको र जसमा इलेक्ट्रोनिक इन्टेग्रेटेड सर्किट, सेन्ट्रल प्रोसेसिङ युनिट लगायत समावेश थिए ।
यसैगरी भारतको अबहार टेक्नोलोजी एन्ड सर्भिसेज प्रालि, डेनभास सर्भिसेज प्रालि, ईएमएसवाई टेक, ग्यालेक्सी बियरिङ्स लिमिटेड, ईनोभियो भेन्चर्स, केडिजी इन्जिनियरिङ प्रालि र खुस्बु अर्निङ प्रालि प्रतिबन्धमा परेका छन् ।
उक्त सूचीमा लोकेश मेसिन्स लिमिटेड, अर्बिट फिनट्रेड एलएलपी, पोइन्टर इलेक्ट्रोनिक्स, आरआरजी इन्जिनियरिङ टेक्नोलोजीज प्रालि, सार्पलाइन अटोमेसन प्रालि, सौर्य एयरोनोटिक्स प्रालि, श्रीजी इम्पेक्स प्रालि र श्रेया लाइफ साइन्सेज प्रालि पनि छन् ।
यसवाहेक दुई जना भारतीय प्रतिबन्धमा परेका छन् । अमेरिकाले प्रतिबन्ध लगाएका दुई नागरिकमा विवेक कुमार मिश्रा र सुधीर कुमार छन् ।
अमेरिकी विदेश विभागका अनुसार विवेक कुमार मिश्रा र सुधीर कुमार एसेन्ड एभिएसनका सहनिर्देशक र आंशिक सेयरधारक हुन् ।
पछिल्लो समय क्यानडासँग तनाब चर्किँदै गर्दा भारतीय कम्पनी र नागरिकविरुद्ध अमेरिकाले चालेको कदम अर्को दबाबको रुपमा देखिएको छ । भारतका लागि क्यानडाले मात्रै नभएर अमेरिकाले पनि पछिल्लो कदमबाट अर्को दबाब दिएको छ ।