स्पेनमा भीषण बाढी: ६२ जनाको मृत्यु, एक वर्षमा हुने वर्षा एकै दिन
एजेन्सी । स्पेनको दक्षिण पूर्वी क्षेत्रमा आएको बाढीका कारण कम्तीमा ६२ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । सरकारले सयौंको संख्यामा सुरक्षाकर्मीहरुलाई उद्धारका लागि खटाइएको छ ।
स्पेनका राजा फेलिप छैठौंले उक्त क्षतिलाई ठूलो विनाशको संज्ञा दिएका छन् । साथै कतिपय स्थानमा प्रभावित मानिसहरुलाई उद्धार गर्न कठिनाइ भएको बताएका छन् ।
स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले भने यसअघि नै सबैको उद्धार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका कतिपय भिडियोमा भने बाढीले पुल भत्काएको र सडकका कार बगाउँदै गरेको देखिन्छ ।
स्थानीय अधिकारीहरुले भने कतिपय गलत सूचनाहरु पनि फैलिएको बताएका छन् । यसैबीच क्षेत्रीय नीति सम्बन्धी मन्त्री भिक्टर टेरेसले बाढीमा कति मानिस हराइरहेका छन् भन्ने यकिन तथ्यांक आफूहरुसँग पनि नभएको बताएका छन् । यद्यपि उद्धार कार्य जारी रहेको छ ।
जर्मन सञ्चारमाध्यम डीडब्लुका अनुसार मंगलबारको वर्षामा प्रति वर्गमिटर ४ सय लिटर पानी परेको छ । यति वर्षा दक्षिण पूर्वी क्षेत्रका तुरिस र बुलोन क्षेत्रमा सिंगो एक वर्षमा पर्ने बताइन्छ । अर्थात् एक वर्षभर पर्ने वर्षा एकै दिन भएको हो ।
२०२१ पछि युरोपमा बाढीले सबैभन्दा ठूलो क्षति अहिले पारेको बताइएको छ । २०२१ माजर्मनीमा १८५ मानिसको मृत्यु भएको थियो । स्पेनमा यसअघि १९९६ मा भीषण बाढीले ८७ जनाको मृत्यु भएको थियो ।