बालविवाह गराएको अभियोगमा २ चिनियाँ नागरिकसहित ८ जना पक्राउ
सुनसरी । सुनसरीमा चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीले ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो ।
अभियुक्तहरूलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको बताए । सुरुमा बालिकाको विवाह गराएको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
नेपालको संविधानले २० वर्षभन्दा कम उमेरका किशोरीको विवाह गराउन नपाइने व्यवस्था गरेको छ । यदि बालबालिकाको विवाह गराएको अवस्थामा विवाह गराउने अभिभावकहरुलाई ३ वर्षसम्म कैद सजाय दिने कानुनी व्यवस्था छ ।