उत्तर र दक्षिण कोरिया युद्धको तयारीमा: आक्रमणका लागि तयार रहन सेनालाई किमको निर्देशन
एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियालाई आफ्नो राजधानीमाथि ड्रोन उडाएको आरोप लगाएपछि यी दुई छिमेकी देशहरुबीच तनाब थप गहिरिँदै गएको छ ।
उत्तर कोरियाले आफ्नो राजधानी प्योङयाङमाथि दक्षिण कोरियाले ड्रोन उडाएर पर्चा फालिरहेको आरोप लगाउँदै आएको छ । दक्षिणले आफूलाई युद्धका लागि उक्साइरहेको उत्तरको आरोप छ ।
शुक्रबार दक्षिणमाथि यस्तो आरोप लगाउँदै उत्तर कोरियाली नेता किम जोङ उनले सीमा क्षेत्रमा रहेका सैनिकहरुलाई गोली प्रहारका लागि तयार रहन निर्देशन दिएका छन् । तर दक्षिण कोरियाले पनि उत्तरलाई जवाफ दिन आफू तयार रहेको चेतावनी दिएको छ ।
दक्षिणले यदि आफ्ना नागरिकको सुरक्षामा केही क्षति भए उत्तर कोरियाली शासनको अन्त्य हुने दक्षिण कोरियाको चेतावनी छ । जवकि मंगलबार उत्तर कोरियाले दक्षिणसँगको सीमा जोड्ने सडकको केही भागलाई बम प्रहार गरी ध्वस्त बनाएको थियो । उत्तरले पहिलेदेखि नै सडक सञ्जाल भत्काउने चेतावनी दिँदै आएको थियो ।
त्यसको एक दिनपछि उत्तरले १४ लाख युवाहरु सेनामा सामेल हुन वा सेनामा फिर्ता हुन आवेदन दिएको पनि दाबी गरेको थियो । उत्तरका सर्वोच्च नेता किम जोङ उनले यही वर्ष जनवरीमा दक्षिण आफ्नो एक नम्बरको दुश्मन रहेको घोषणा गरेका थिए । तर पछिल्लो समय ड्रोन उडाउने र पर्चा फाल्ने कार्यपछि यी दुई देशबीच तनाब झन बढिरहेको छ ।
त्यसो त दक्षिण कोरियाली पक्षबाट यसअघि पनि बेलुनमा पर्चा बाँधेर उत्तर तर्फ फ्याँक्ने गतिविधि हुने गरेको थियो । साथै सीमा क्षेत्रबाट पनि वारपार यस्ता पर्चा फाल्ने काम हुने गरेको थियो ।
तर पछिल्लो समय दक्षिणले ड्रोन उडाएर पर्चा फालिरहेको दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक हुन थालेका छन् । उत्तर कोरियाले सार्वजनिक गरेको एक भिडियोमा पनि ड्रोन उडेको दृश्य देखिएको छ ।
यसरी ड्रोन उडाउने काम दक्षिणका अभियन्ताहरुले गरिरहेको आकलन गरिँदैआएको छ । उनीहरुले बेलुनको सहायताबाट केही पर्चा सामग्री पनि उत्तरतर्फ पठाइरहेको बताइन्छ । तर फ्रि नर्थ कोरिया मुभमेन्टका नेता पार्क साङ हाकले ड्रोन घुसपैठको विषयमा उत्तरको दाबी खण्डन गर्दै आफूहरुले उत्तरमा ड्रोन नपठाएको बताएका छन् ।
उत्तर कोरियाली नेता किमले भने पछिल्लो समय सेना प्रमुखसहितका उच्च अधिकारीहरुलाई भेट गरेर तत्काल सैन्य कारबाहीको आदेश दिएको बताइएको छ । साथै उनले आत्मरक्षाको अधिकार प्रयोग गर्न पनि निर्देशन दिएको बुझिएको छ । यसबीचमा दुई देश थप द्वन्द्वमा फस्ने संकेतहरु देखिएका छन् ।
युक्रेनसँगको युद्धमा रुसी सेनाको तर्फबाट उत्तर कोरियाली सेनाहरु पनि युद्ध लडिरहेको समाचार आइरहँदा उत्तरलाई थप दबाब सिर्जना हुने देखिएको छ ।
जवकि दक्षिण कोरिया अमेरिकाको सहयोगी देशको रुपमा चिनिँदै आएको छ । र अमेरिकाले उत्तर कोरियामाथि आणविक हतियारको विषयलाई लिएर प्रतिबन्ध लगाइरहेको छ । कतिपय विश्लेषकहरुले भने उत्तर र दक्षिण युद्धतर्फ अग्रसर रहेको टिप्पणी गर्दै आएका छन् ।