लेबनानमा नेपाली शान्ति सेना सबै सुरक्षित छन्: नेपाली सेना



काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घका लागि शान्ति स्थापनार्थ लेबनानमा खटिएका सबै नेपाली सैनिकहरु सुरक्षित रहेको जनाएको छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा लेबनानमा रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सबै फौज सुरक्षित रहेको बताएका छन् ।

शान्ति मिसन वरपर छिटपुट घटना भएको र त्यसले दैनिक कामकारबाहीमा असर परिरहेको भन्दै प्रवक्ता केसीले संयुक्त राष्ट्रसंघको निर्देशन नेपाली सेनाले पालना गर्ने बताएका छन्।

लेबनानमा पछिल्लो समय उत्पन्न परिस्थितिका आधारमा संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय अनुसार नेपाली सेना खटिने उनको भनाइ छ । द्वन्द्वग्रस्त लेबनानमा हाल ८ सय ७७ नेपाली सैनिकहरु तैनाथ छन् ।

लेबनानस्थित शान्ति सेनाको क्याम्पमा इजरायली सेना घुसेर आक्रमण गरेको घटनामा नेपाल सरकारले भने आपत्ति जनाएको छ । नेपालसहित अरु ३० भन्दा धेरै देशहरुले इजरायलको आक्रमणप्रति निन्दा गरेका छन् ।


क्लिकमान्डु