पृथ्वी राजपथमा भीरबाट खसेको ढुंगा लागेर बालिकाको मृत्यु



काठमाडौं । त्रिभुवन राजपथको हेटौंडा-भैंसे सडकखण्डमा भीरबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ ।

सडकखण्डको भुलभुलेस्थित यात्रुवाहक बसमाथि भीरबाट ढुंगा खस्दा बसमा यात्रा गरिरहेकी मकवानपुरगढी गाउँपालिका ८ की १२ वर्षीया रिकु थिङको मृत्यु भएको हो ।

भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३१० नं. को स्थानीय बसमा अचानक भीरमाथिबाट ढुङ्गा खसेको थियो । ढुंगा लागेर घाइते भएकी थिङलाई उपचारको लागि अस्पताल लगिएको थियो ।

हेटौंडामा सामान्य उपचारपछि थप उपचारका लागि चितवन लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

गत साता अविरल वर्षासँगै आएको बाढीपहिरोले देशका अधिकांश भागका सडकमा क्षति पुर्‍याएको छ । वर्षा रोकिएपछि नि भीरहरुबाट सुख्खा पहिरो खस्ने र भासिने क्रम रोकिएको छैन ।


क्लिकमान्डु