भूटानमा मलाई गरिएको स्वागत सम्पूर्ण नेपालीलाई गरिएको सम्मान हो: पूर्वराजा शाह



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूटान भ्रमणमा आफूलाई गरेको सम्मानलाई सबै नेपालीहरुलाई गरेको सम्मानका रुपमा ग्रहण गरेको बताएका छन् ।

निर्मल निवासमा शनिबार सर्वसाधारणलाई विजया दशमीको टीका लगाउने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन् । उनले केही दिनअघि मात्रै आफू भूटान गएको र भूटान भ्रमण निजी भ्रमण रहेको बताए ।

भूटान भ्रमणको बारेमा सबैको चासो र जिज्ञासा रहेको भन्दै शाहले भूटानको राजपरिवार र भूटानी जनताले आफूलाई दर्शाएको स्वागत, सम्मान र मित्रतालाई आफूले सम्पूर्ण नेपालीहरु र नेपालालई गरेको सम्मानका रुपमा लिएको प्रतिक्रिया दिए ।

उनले नेपाललाई गरेको स्वागतका लागि भूटानी जनता र राजपरिवारलाई कृतज्ञता पनि व्यक्त गरेका थिए । ‘तपाईंहरुमार्फत सबै नेपालीलाई शुभकामना छ, विजया दशमीको । अहिले हालै म भूटान गएको थिएँ । त्यसको अहिले चासो र जिज्ञासा भएको छ । त्यो निजी भ्रमण थियो । त्यहाँका राजपरिवार र भूटानी जनताले मलाई दर्शाएको स्वागत, सम्मान, मित्रता । मैले के ठानेको छु भने त्यो नेपाल र नेपालीलाई गरेको हो भनेर मैले ठानेको छु । तपाईंहरुमार्फत म त्यहाँको राजपरिवार र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद, कृतज्ञता दिन चाहन्छु,’ शाहले भने ।

पूर्वराजा शाहले विजया दशमीको शुभ अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका थिए । शाहले राजगद्धी छाडेपछि पनि आम नागरिकहरु हरेक वर्ष दशैंको अवसरमा निर्मल निवासमा टीका थाप्न जाने गरेका छन् ।


क्लिकमान्डु