बाढीपीडितको सहयोगका लागि सिटिजन्स बैंकद्वारा २५ लाखको चेक हस्तान्तरण



काठमाडौं । अविरल वर्षाका कारण ठूलो जनधनको क्षति पुगेकाहरुलाई राहत तथा पुनर्स्थापनाका लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रधानमन्त्री राहत कोषलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूलाई सहयोगार्थ उक्त रकम शहरी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबीच कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमानलाई हस्तान्तरण गरेको हो । कार्यवाहक प्रधानमन्त्री सिंहलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

समाहरोमा सूचना तथा संचारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायण राज अधिकारी लगायतको उपस्थिति रहेको थियो । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वस्थलाभको पनि कामना गरेको छ । यस सहयोगबाट पीडितहरुलाई तत्काल राहतमा सहयोग पुग्ने पनि बैंकले अपेक्षा गरेको छ ।

सिटिजन्स बैँकले यसअघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पीडीतहरुको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप १ करोड रुपैयाँ प्रदान गरेको थियो ।

साथै कर्णाली प्रदेशको जाजरकोटमा २०८० कात्तिक १७ गतेका दिन गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको लागि उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।


क्लिकमान्डु