
काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषलाई २५ लाख रुपैयाँ सहयोग दिने भएको छ । देशभर अविरल वर्षाका बीच बाढीपहिरो पीडितहरुको राहतका लागि बैंकले सहयोग गर्ने निर्णय गरेको हो ।
देशभर बाढीपहिरोले ठूलो मात्रामा जनधनको क्षतिका खबर आइरहँदा सिटिजन्स बैंकले राहत कोषलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री राहत कोषलाई उक्त रकम दिने सीईओ गणेशराज पोखरेलले जानकारी दिए ।
साथै यस्तो संकटको अवस्थामा बैंकले आफ्नो सहयोग विस्तार गर्ने पनि सीईओ पोखरेलले बताएका छन् । यसपटक बाढीपहिरोका पीडितका लागि प्रधानमन्त्री राहत कोषलाई रकम सहयोग गर्ने सिटिजन्स बैंक पहिलो बैंक हो ।
शुक्रबारदेखि अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो जाँदा दर्जनौं मानिसको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । साथै सयौंको संख्यामा घरहरु बाढी पहिरोले बगाएको छ ।
दुई दिनको अन्तरमा बाढीपहिरोले दसौं करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । देशभरका नदीहरुमा जल सतह बढेर आसपासका बासिन्दाहरु सुरक्षित स्थानतर्फ सरेका छन् ।
प्रतिक्रिया