राष्ट्र बैंकको नयाँ भवनमा मंसिरपछि मात्रै विभागहरु सर्ने, थापाथलीमा अन्योल



काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको पुनर्निर्मित भवनसहितको संरचना हस्तान्तरण गरेको ६ महिनासम्म पनि सबै विभागहरु सरीनसक्ने भएका छन् ।

सहकारी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागले २०८१ असार २८ गते भवन हस्तान्तरण गरेका हो । २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि नयाँ भवन बनाइएका हुन् ।

अहिलेसम्म २ वटा मात्रै विभाग नयाँ भवनमा सरेका छन् । केही विभाग पुरानै भवनमा छन् । सबै विभाग सर्न मंसिरसम्म कुर्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

नयाँ भवनमा अहिलेसम्म सम्पत्ति र सेवा व्यवस्था विभाग र मानव संशाधन व्यवस्थापन विभाग मात्रै सरेको छ । राष्ट्र बैंकको गैह्र बैंक वित्तीय संस्था विभाग ललिता निवासमा रहेको गैरआवासीय नेपालीको भवनमा रहेको छ । बैंक सुपरिवेक्षण विभाग दरबारमार्गमा रहेको छ । यी विभाग तत्काल सर्ने सम्भावना देखिएको छैन ।

थापाथलीमा राष्ट्र बैंकको भवन निर्माण सकिएको भए पनि हस्तान्तरण भइसकेको छैन । राष्ट्र बैंकले थापाथली भवनबाट भदौ ५ देखि नै बैंकिङ कार्यालय, मुद्रा व्यवस्थापन र मौद्रिक व्यवस्थापन विभागका नियमित काम गर्न खाजेको थियो । त्यसका लागि काम गर्न पनि गभर्नर महाप्रसाद अधिकारीले सम्बन्धित विभागलाई निर्देशन दिइसकेको स्रोतले जनाएको छ । भवन हस्तान्तरण नभएका कारण यो कार्य पूरा हुन सकेको छैन ।

कर्मचारीले बालुवाटारको नयाँ भवनमा सर्दा सबै सामग्री नयाँ हुनु पर्ने माग गरिरहँदा समयमा नै सबै शाखा सर्न नसकेको केही कर्मचारीको भनाइ छ ।

राष्ट्र बैंकका कर्मचारी युनियनले नयाँ भवन बनेपछि कुर्सी, सोफा, कम्प्युटर लगायत सबै सामान नयाँ राख्नु पर्ने बताइरहेका छन् । तर, अहिले सबै सामान नयाँ खरिद गर्नुभन्दा पनि अहिले प्रयोगमा रहेका चल्ने खालका सामानलाई निरन्तता दिने पक्षमा व्यवस्थापन रहेको छ ।

‘आफ्नो माग लिएर आउनु यूनियनको धर्म नै हो’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘भवन नयाँ भयो भन्दैमा सबै सामान नयाँ चाहिन्छ भन्दैमा पूरा हुन समय लाग्छ । सबै नयाँ खरिद गर्ने हो भने सार्वजनिक खरिद ऐन अन्तर्गत जानु पर्छ । त्यसका लागि समय धेरै लाग्छ । धेरै समय कुरेर बस्नु भन्दा पनि भएका प्रयोगमा आउने सामान प्रयोग गर्दै जाऔ, पनि आवश्यक परेको खण्डमा थपघट गर्दै जान सकिन्छ ।’ संस्थालाई कुन सामान कति आवश्यक लाग्छ त्यो अनुसार सामान थपघट हुने उनको भनाइ छ ।


क्लिकमान्डु