भदौं अन्तिम साता काठमाडौंमा पूर्वाधार सम्मेलन



काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण भदौंको अन्तिम साता काठमाडौंमा आयोजना हुने भएको छ ।

भदौं २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको छ। काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।

सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आएको नेपाल उद्योग परिसंघले त्यसयता २०१७, २०१९ र २०२२ मा यस्तो सम्मेलन आयोजना गरिसकेको छ ।

उद्योग परिसंघले यसअघिका सम्मेलन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय, लगानी बोर्ड, युथ कम्यूनिटी फर नेप्लिज कन्ट्रयाक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा गरेको जनाएको छ ।

आगामी संस्करणमा भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ आयोजकका रूपमा रहनेछन् । यस्तै, लगानी बोर्ड र वाईसीएनसी सम्मेलनको सहआयोजक रहनेछन् ।

पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सम्मेलनमा पूर्वाधारमा आवश्यक लगानी कसरी जुटाउने, नीतिगत रूपमा के(के सुधार गर्ने, पूर्वाधार विकासका अन्तरराष्ट्रिय अभ्यासहरूबारे गहनरूपमा छलफल हुने बताए ।

सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने उनको भनाइ छ ।

सम्मेलनमा पूर्वाधारका लागि लगानी प्रवर्द्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोध लगायत विषयमा राष्ट्रियरअन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन छलफल हुने आयोजकले जनाएको छ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले क्षेत्रीय यातायात, ऊर्जा, शहरी विकास लगायत विभिन्न १२ ओटा विषयगत क्षेत्रमा गहन छलफल हुने बताए ।

लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनका क्रममा राखिएका परियोजनाहरू पूर्वाधार सम्मेलनमा पनि राखिने बताए ।

सम्मेलनमा छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका देशका विज्ञ र लगानीकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ ।


क्लिकमान्डु