बूढीगण्डकी परियोजनाका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण, पछि नहट्ने उर्जा मन्त्रीको भनाई



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण गरिसकेको बताएका छन् ।

अर्बौ रकम खर्च भइसकेकाले सो परियोजना निर्माणबाट पछाडि हट्न नसकिने उनले बताए ।

बुढीगण्डकी जलविद्युत् आयोजनाको वर्तमान अवस्था, चुनौती र भावी कार्यक्रमको बारेमा मन्त्रालयमा भएको छलफलमा ऊर्जामन्त्री खड्काले बुढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि बुढीगण्डकी परियोजनाभित्र देखिएका समस्यालाई समाधान गर्दै कार्यान्वयनमा लैजाने उनले बताए । सो परियोजनालाई अगाडि बढाउनका लागि अर्थमन्त्री, प्रधानमन्त्रीसँग छलफल गर्ने उनको भनाइ थियो ।


क्लिकमान्डु