अण्डाको माग बढ्दा चितवनमा मूल्य बढाइयो



चितवन । अण्डाको माग बढेपछि चितवनमा शनिवारदेखि लागु हुने गरी अण्डाको मूल्य बृद्धि गरिएको छ ।

दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय पाँच तय गरेको छ । ठूलो अण्डा चार सय ९५ र मध्यम अण्डाको मूल्य चार सय २५ रुपैयाँ तोकिएको हो ।

भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।

दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन दिएपछि फार्महरुले आफैँ मूल्य निर्धारण गर्ने गरेका छन् ।

पोखरेलका अनुसार शनिबारदेखि बिक्री मूल्य बढाइएको छ । हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको मूल्य बढाएको बताए । उनले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच, ठूलो र मध्यमको १० ले बढाइएको बताए ।

सबै फार्महरुले मूल्य बढाएको उनले जानकारी दिए ।

लामिछानेले भने,’मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न अझै सकिएको छैन ।’

अण्डा उत्पादक कृषकहरु नेपाल लेयर्स कुखुरा पालक सङ्घ गठन गरेर बजारीकरणमा जुटेका छन् । सङ्घका अध्यक्ष समेत रहेका पोखरेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसानहरु फेरि व्यवसायमा फर्किएको बताए ।

साउनमा बिक्री हुन बाँकी अण्डाहरु बिक्री भईसकेकाले अब केही सहज बन्ने पोखरेलको भनाई छ ।

खिलुङ काली पोल्ट्री फार्मका सञ्चालक भेषराज अर्यालले भदौ लागेसँगै व्रतहरु सकिएको, पहाडी क्षेत्रका केही भागका सडकमा केही सुधार आएको, चाडपर्व सुरु भएको, विद्यालय, क्याम्पस सञ्चालनमा आएको र पर्यटकको आगमन बढेकाले अण्डाको माग बढेको बताए ।

उद्योग सङ्घ चितवनका पूर्वअध्यक्ष पोल्ट्री व्यवसायी त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताए । झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उनको भनाई छ । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा १६ दशमलव ५६ रुपैयाँ कायम गरेका थिए ।


क्लिकमान्डु