सरकारलाई बालेनको प्रस्ताव: धरहरा सञ्‍चालन गर्ने जिम्मा महानगरलाई दिनुस्



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहरी विकासमन्त्री प्रकाशमान सिंह समक्ष धरहरा सञ्चालनको जिम्मा महानगरलाई दिन आग्रह गरेका छन् ।

गत बुधबार मेयर शाहले मन्त्री सिंहलाई भेटेर यस्तो प्रस्ताव राखेका हुन् । यस क्रममा मेयर शाहले धरहरा पार्किङ र सञ्चालनको जिम्मा ठेकेदारलाई दिन नहुने पनि सुझाव दिएका थिए ।

बरु ठेक्काबाट आउने बराबरको रकम महानगरले नै तिर्ने पनि उनको भनाइ थियो । धरहरा सञ्चालनको कार्यविधि मन्त्रालयले नै बनाए पनि उक्त कार्यविधि अनुसार महानगरले चलाउन सक्ने बालेनले आश्वास्त पारेका थिए ।

मन्त्रालयले भने धरहरा सञ्चालनका लागि कार्यविधि बनाइरहेको र यसबारे ठोस निर्णयमा नपुगेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार धरहरा सञ्चालन कार्यविधिको मस्यौदा बनेको तर यसलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा टुंगोमा पुगेको छैन ।


क्लिकमान्डु