तनहुँमा सडक डिभिजनले मर्मत गर्‍यो ५३ किलोमिटर सडक



तनहुँ । सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५३.५४ किलोमिटर सडक मर्मत गरेको छ । उक्त कार्यालयका इन्जिनियर बबिता शर्माका अनुसार सडक बोर्ड नेपाल तथा विश्व बैंकको सहयोगमा राष्ट्रिय राजमार्गमा आवधिक मर्मत तथा रिसिलिङ कार्य सम्पन्न गरिएको छ ।

सोही अवधिमा ८.५ किलोमिटर सडक कालोपत्र गरिएको शर्माले जानकारी दिइन् । सो अवधिमा आठ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य थियो भने चार किलोमिटर ट्रयाक निर्माण गर्ने लक्ष्य रहेकामा ३.५ किलोमिटर ट्रयाक निर्माण भएको शर्माले बताइन् । उनका अनुसार ८.५ किलोमिटर ग्राभेल सडक निर्माण गर्ने लक्ष्य राखिएकामा ८ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ ।

इन्जिनियर शर्माले विगतका वर्षमा खसेका दुई ठूला पहिरामध्ये पृथ्वीराजमार्गअन्तर्गत साँखर पहिरा रोकथामका लागि ठेक्का व्यवस्थापन गरिएकामा निर्माणकार्य अन्तिम चरणमा पुगेको बताइन् । गोरखाको घ्याम्पेसाल अन्तर्गत कोखे आहालेको पहिरा रोकथामसम्बन्धी निर्माण सम्पन्न भएको उनले जानकारी दिइन् ।

सडक डिभिजन कार्यालयका लागि उक्त आर्थिक वर्षमा पुँजीगततर्फ ४३ करोड ४७ लाख बजेट विनियोजन भएकामा ३९ करोड बजेट खर्च भएको जनाइएको छ । कार्यालयमार्फत बिर्ता हुँदै भानु नगरपालिका–६ टुहुरेपसल–अर्चले भञ्ज्याङ–रम्घाटार– मनटेहटिया सडकका लागि चार करोड ५० लाख विनियोजन भएकामा ४० प्रतिशत भौतिक र ३५ प्रतिशत प्रगति भएको छ ।

श्रृङ्गपथ–गाईघाट–ऋषिङ–चापाकोट–गल्याङ सडकको पोखरीछापबाट कटहरे हुँदै मोहमी खण्डका लागि ५० लाख विनियोजन भएकामा शतप्रतिशत भौतिक र ९९.४ प्रतिशत वित्तीय प्रगति भएको छ । खैरेनीटार–भिमाद–भूमरीघाट–कावासोती सडकका लागि तीन करोड विनियोजन भएकामा सतप्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

भिमाद–रामपुर–मित्याल–आरुङखोला सडकको भिमाद रामपुर सडकका लागि तीन करोड विनियोजन भएकामा शतप्रतिशत भौतिक र ८६ प्रतिशत वित्तीय प्रगति भएको छ । नौबिसे–मुग्लिन–पोखरा सडकका लागि एक करोड ५० लाख विनियोजन भएकामा एक सय प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको उक्त कार्यालयले जनाएको छ ।

बागीश्वरी मार्गका लागि दुई करोड ५२ लाख ६८ हजार विनियोजन भएकामा सतप्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस्तै व्यास बुद्धर्सि मार्गका लागि ७० लाख विनियोजन भएकामा एक सय प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको छ ।

सेतीगण्डकी पुलका लागि एक करोड ६६ लाख ४२ हजार विनियोजन भएकामा ९४ प्रतिशत भौतिक र ९४ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ ।

त्यस्तै त्रिशूली नदी पुलका लागि ८९ लाख ३० हजार बजेट विनियोजन भएकामा ४५ प्रतिशत भौतिक र ३८ प्रतिशत वित्तीय प्रगति भएको छ । मर्स्याङदी नदीमा मोटरेबल पुलका लागि ८९ लाख ३० हजार रुपैयाँ विनियोजन भएकामा ४५ प्रतिशत भौतिक र ३५ प्रतिशत वित्तीय प्रगति भएको छ ।

चालु आवका लागि ७३ करोड बजेट

इन्जिनियर शर्माका अनुसार सडक डिभिजन कार्यालयका लागि चालु आवमा ७३ करोड ८२ लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

स्थानीय सडक पुल निर्माणका लागि दुई करोड ८० लाख, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि रु ३२ करोड ६८ लाख ८३ हजार रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी, राजमार्ग स्तरोन्नति तथा पुनःस्थापनाका लागि एक करोड ३५ लाख रुपैयाँ, निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि एक करोड ६२ लाख रुपैयाँ, सडक तथा ट्राफिक सुरक्षाका लागि ७० लाख र सडक बोर्ड नेपालअन्तर्गत सात करोड ९४ लाख रुपैयाँ विनियोजन भएको छ ।


क्लिकमान्डु