बन्दुकसहित टेस्लामा चढेर रुसी नेताले जब एलन मस्कलाई बोलाए…



अमेरिकाले प्रतिबन्ध लगाएका रुसी नेताले मेसिनगन बोकेर टेस्लाको कार चढ्दै भने- ‘मेरा सबैभन्दा प्रिय अतिथि एलन मस्कले दिएको गाडी । युक्रेनविरुद्ध लड्न रुसी सैनिकका लागि यो गाडी धेरै उपयोगी छ ।’

एजेन्सी । रुसको चेचेन रिपब्लिकनका नेता रामजान कादीरोभले बन्दुक बोक्दै टेस्लाको साइबर ट्रकमा चढेर अमेरिकी अर्बपति तथा टेस्लाका मालिक एलन मस्कलाई रुसमा आमन्त्रण गरेको भिडियोको यतिबेला विश्वभर चर्चा भइरहेको छ । जहाँ उनले मस्कको उच्च प्रशंसा गरेका छन् ।

भिडियोमा नेताले मेसिनगन बोकेर उभिँदै एलन मस्कलाई चेचेनको राजधानी ऐतिहासिक सहर ग्रोज्‍नीमा भ्रमणका लागि आमन्त्रण गरिरहेका छन् । जहाँ उनी साइबर ट्रकको छतमा मेसिनगन बोकेर उभिरहेका देखिन्छन् ।

नेता कादीरोभले भनेका छन्, ‘म एलोन मस्कप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो, निशन्देह, हाम्रो समयको सबैभन्दा बलियो प्रतिभा र एक विशेषज्ञ हो।’ ती नेताले एलन मस्कलाई ‘एक महान मानिस’ को संज्ञा दिएका छन् ।

ग्रेज्नी सोभियत रुसकालीन समयमा अक्टोबर क्रान्तिका बेला चर्चित ऐतिहासिक सहर हो । सोही सहरमा उनले मस्कलाई स्वागत गर्ने भन्दै आमन्त्रण गरेका छन् । उनले भिडियोमार्फत मस्कलाई ‘मेरा सबैभन्दा प्रिय अतिथि’ भनी सम्बोधन गरेका छन् ।

यस्तै उनले रुसी विदेश मन्त्रलयले पनि मस्कको भ्रमणलाई स्वागत नै गर्ने आशा व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘रुसी विदेश मन्त्रालयले पनि यो भ्रमणप्रति आपत्ति जनाउँछ जस्तो मलाई लाग्दैन ।’

कादीरोभ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर समर्थक र निकटस्थ नेताको रुमा चिनिन्छन् । यसैबीच कादीरोभले युक्रेनविरुद्ध लडिरहेको रुसी सेनालाई उनले उक्त टेस्लाको साइबर ट्रक दान दिने पनि बताएका छन् ।

यस क्रममा कादीरोभले टेस्लाको साइबर ट्रकलाई ‘निशन्देह विश्वकै सबैभन्दा राम्रो कार’ भन्दै प्रशंसा गरेका छन् । ‘म ढुक्क छु, यसले हाम्रा सैनिकहरुलाई यसले प्रसस्त लाभ दिनेछ,’ कादीरोभले भनेका छन् ।

यातन र गैरन्यायिक हत्या लगायत मानव अधिकार उल्लंघनको आरोपमा अेरिकी प्रतिबन्ध खेपिरहेका कादीरोभले आफूले एलन मस्कबाट उक्त ट्रक प्राप्त गरेको पनि बताएका छन् । यद्यपि उक्त गाडी कादीरोभले कसरी प्राप्त गरे भन्ने विषयमा स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन । न त टेस्ला वा एलन मस्कले नै यसबारे कुनै प्रतिक्रिया दिएका छन् ।

यद्यपि टेस्लाले साइबर ट्रकलाई गत वर्ष विक्रीका लागि राख्नुअघि २०१९ मा पहिलो पटक साइबर ट्रकको अवधारणा र फिचरबारे सार्वजनिक गरेको थियो । हाल यो गाडी उत्तर अमेरिकामा मात्रै विक्रीका लागि राखिएको छ । मस्कले भने यसै वर्षको सुरुमा यो गाडी २०२५ तिर मात्रै अन्य बजारका लागि प्रमाणित हुनसक्ने प्रतिक्रिया दिएका थिए ।


क्लिकमान्डु