भारतको बाढी-पहिरोमा १२३ को मृत्यु, ९० जना अझै बेपत्ता



एजेन्सी । भारतको केरल राज्यमा भीषण बाढी-पहिरो आउँदा मृत्यु हुनेको संख्या १२३ पुगिसकेको छ । यस क्रममा १ सय भन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार गरिएको छ ।

केरलका मुख्यमन्त्री पिनाराई विजयनले बाढीमा ९० जना स्थानीयहरु बेपत्ता भएको बताएका छन् । पहाडी क्षेत्रमा निरन्तरवर्षा भइरहँदा उद्धारकार्य पनि प्रभावित भएको बताइएको छ ।

यद्यपि ठूलो संख्यामा प्रहरीसहित उद्धारकर्मीहरु खटाइएको छ । निरन्तर वर्षा र बाढीका कारण मंगलबार दिनभर यति ठूलो जनधनको क्षति भएको हो ।

विशेषगरी वायनाड जिल्लाक विभिन्न स्थानमा बाढीपहिरोले धेरै असर पारेको छ । यस घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदि मुर्मु, रक्षामन्त्री राजनाथ सिंह, प्रतिपक्षी दलका नेता राहुल गान्धी लगायत अधिकांश राजनीतिकर्मीले दुख व्यक्त गरेका छन् ।

यससँगै प्रधानमन्त्री मोदीले घाइतेहरुलाई ५० हजारका दरले र मृत्यु भएका परिवारलाई २ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेका छन् । मंगलबार लोकसभामा पनि करलको बाढीपहिरोका पीडितबारे विषय उठाइएको थियो ।

बाढीले गर्दा विभिन्न स्थानमा पुल, सडक लगायत भौतिक संरचना भत्किनुका साथै ठूलो जनधनको क्षति भएको छ । यद्यपि क्षतिको पूर्ण विवरण आइसकेको छैन । मंगलबार दिनभर उद्धार कार्य भइरह्यो भने जवखिममा रहेका बस्तीलाई सुरक्षित स्थानतर्फ सारिएको थियो ।


क्लिकमान्डु