भारतको केरलमा भीषण बाढीपहिरो: ६३ जनाको मृत्यु, दर्जनौं पुरिए



एजेन्सी । भारतको दक्षिणी राज्य केरलमा बाढीपहिरोका कारण कम्तीमा ६३ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं मानिसहरु पहिरोमा पुरिएको बताइएको छ । पहाडी जिल्ला वायानाडमा केही घण्टादेखि अविरल परेको वर्षा र पहिरोले त्यहाँ ठूलो क्षति पुर्‍याएको छ ।

मंगलबारको यस्तो घटनामा ठूलो संख्यामा उद्धारकर्मी घटनास्थलतर्फ गएका छन् । पहाडी जिल्लामा बाढी पहिरोले पुल लगायत धेरै भौतिक संरचना भत्किएका छन् । घटनास्थलमा उद्धारका लागि भारतीय सेनाले पनि २ सय जनाको फौज पठाएको छ ।

जहाँ प्रहरी र अन्य उद्धारकर्मीहरु खटिरहेका छन् । घटनास्थलबाट कम्तीमा १ सय घाइतेको उद्धार गरिएको छ । वायनाडबाट ३६ जनाको शव निकालिएको छ ।

यस्तै चालियार नदीबाट ९ जनाको शव निकालिएको स्थानीय अधिकारीहरुले बताएका छन् । सबै गरी ६३ जनाको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ । यद्यपि बीबीसी हिन्दीमा भने ४० जनाभन्दा धेरैको मृत्यु भएको बताइएको छ ।

बाढीपहिरोले मुन्डाक्काइ, आत्तामाला, चुरालमाला र कुनहोम क्षेत्र बढी प्रभावित भएका छन् । केरला सरकारका मन्त्री एमबी राजेशले भने मंगलबार बिहानसम्म ४३ जनाको मृत्यु पुष्टि भएको तर मृत्यु हुनेको संख्या अझै धेरै रहेको बताए । कतिपय शव बेवारिसे भएकाले तथ्यांकमा राखिएको छैन ।

भारतीय समाचार एजेन्सी पीटीआईले भने अहिलेसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । तर भारी वर्षाका कारण उद्धारमा कठिनाइ भएको बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति अभिव्यक्ति दिँदै भुस्खलनमा मृत्यु भएकाहरुको परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै उनले राज्य सरकारका मुख्यमन्त्रीसँग पनि घटनाबारे जानकारी लिएका छन् ।

यस क्रममा प्रधानमन्त्री मोदीले घाइतेहरु सबैलाई ५० हजारका दरले क्षतिपुर्ति दिने घोषणा गरेका छन् । साथै मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाखका दरले क्षतिपुर्ति दिने बताएका छन् । यस्तै राष्ट्रपति द्रौपदि मुर्मुले पनि घटनाबारे दुख व्यक्त गरेकी छन् ।

यस्तै प्रतिपक्षी दलका नेता राहुल गान्धीले पनि घटनाप्रति दुख व्यक्त गर्दै जिल्लाका अधिकारीहरुसँग कुराकानी गरेका छन् । उनले कन्द्रोल रुम बनाउनुपर्ने बताएका छन् । साथै उद्धारमा खटिन सबैलाई आग्रह गरेका छन् । वायानाड जिल्लामा यसअघि २०१९ मा बाढीपहिरोबाट १७ जनाको मृत्यु भएको थियो ।


क्लिकमान्डु