साढे दुई खर्बको कृषीजन्य वस्तु आयात



काठमाडौं । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष २०८०/८१ वैदेशिक व्यापार १.३३ प्रतिशतले घट्दा पनि सबैभन्दा बढि कृषिजन्य बस्तु आयात भएको छ ।

भन्सार विभागको तथ्याँकअनुसार कृषि प्रधान नेपालमा गत आर्थिक बर्षमा २ खर्ब ५१ अर्ब ४६ करोड रुपैयाँबराबरको विभिन्न प्रकारको कृषिजन्य वस्तु आयात भएका छन् ।

कृषिमा पनि तरकारी मात्रै २८ अर्ब ३१ करोड ४३ लाख रुपैयाँको आयात भएको छ । यस्तै जनावर तथा बनस्पतिजन्य बोसो र तेल ४८ अर्ब २७ करोड ४६ लाख रुपैयाँको आयात भएको छ । फलफूल २३ अर्ब ४४ करोड ५७ लाख, खाद्यान्न (धान, चामल, गहुँ, मकैं) ४५ अर्ब ७९ करोड ७४ लाख, कफी तथा चिया ११ अर्ब, तेलहनसम्बन्धी विभिन्न प्रकारका बीउ २१ अर्ब ७७ करोड र कृषिजन्य वस्तुबाट उत्पादन विभिन्न खाद्य सामग्री १५ अर्ब ८४ करोड ७९ लाख रुपैयाँको आयात भएको छ ।

यस्तै माछा १ अर्ब ३५ करोड, डेरीसम्बन्धी उत्पादन २ अर्ब ५१ करोड, खाद्यान्न तथा पिठोजन्य पदार्थबाट निर्मित खाद्यपदार्थ ७ अर्ब ८५ करोड र खाद्यान्न उद्योगमा उपभोग हुने विभिन्न प्रकारका कृषिजन्य वस्तु २७ अर्ब ३४ करोड रुपैयाँबराबरको आयात भएको छ ।

त्यसैगरी गत आर्थिक वर्ष ३ खर्ब ३७ अर्ब ३४ करोड ५५ लाख रुपैयाँबराबरको विभिन्न प्रकारका पेट्रोलियम पदार्थ आयात भएको छ । १ खर्ब २४ अर्ब ९५ करोड रुपैयाँबराबरको आइरन र स्टिल, १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँबराबरको कारखानामा उपभोग हुने बोइलर मेसिन र उपकरण, १ खर्ब ६ अर्ब ४९ करोड रुपैयाँबराबरको विभिन्न प्रकारको विद्युतीय मेसिन तथा उपकरण, ८५ अर्ब ७४ करोडको रेलवेसम्बन्धी विभिन्न सामग्री, यस्तै विभिन्न प्रकारका प्लास्टिकका सामग्री ५९ अर्ब, रसायनिक मल ३६ अर्ब ४४ करोड, कागजसम्बन्धी विभिन्न सामग्री १९ अर्ब, कपडासम्बन्धी विभिन्न सामग्री २४ अर्ब ९३ करोड, मोतिजन्य सामग्री ३४ अर्ब ११ करोड रुपैयाँबराबरको आयात भएको छ ।

गत आर्थिक बर्षमा १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँको कूल वैदेशिक व्यापार भएको थियो । त्यसभन्दा अघिल्लो आर्थिक बर्षमा भने १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

वैदेशिक व्यापार घट्दा अघिल्लो बर्षको तुलनामा आयात हिस्सा पनि कम देखिएको छ । अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा आयात दर १.१६ प्रतिशतले खुम्चिएको छ । गत आर्थिक बर्षमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँको विभिन्न वस्तु नेपालमा आयात भएको थियो । अघिल्लो बर्षमा भने १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँको यस्तो आयात भएको थियो ।

के के भयो बढी निर्यात ?

गत् आर्थिक बर्षमा आइरन र स्टिल १५ अर्ब ६५ करोड २७ लाख रुपैयाँबराबरको नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको छ । यस्तै ११ अर्ब ६९ करोड ६७ लाख रुपैयाँबराबरको हातबाट निर्मित विभिन्न प्रकारका फाइवर, ११ अर्ब ४८ करोड ६५ लाख रुपैयाँबराबरको भुईमा ओछ्याउने कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ ।

विभागले सार्वजनिक गरेको गत आर्थिक बर्षको तथ्याँकअनुसार नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँबराबरको विभिन्न वस्तु आयात गर्दा नेपालबाट निर्यात भने १ खर्ब ५२ करोड ३८ लाख रुपैयाँबराबरको मात्रै गर्न सफल भएको छ । अघिल्लो बर्षको तुलनामा निर्याततर्फ पनि ३.०३ प्रतिशतले कमी आएको हो । अघिल्लो बर्ष १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँबराबरको विभिन्न वस्तु नेपालले भारतसहित तेश्रो मुलुकमा निर्यात गरेको थियो ।


क्लिकमान्डु