न्युरोडका स्थानीयले बालेनको पुत्ला जलाए, डोजर रोक्न सडकमै टेन्ट टाँगेर धर्ना



काठमाडौं । न्युरोडको फूटपाथ विस्तारको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र स्थानीयबीचको विवादले झनै उग्र रुप लिएको छ ।

शुक्रबार बिहानैदेखि आक्रोशित बनेर सडकमा उत्रिएका स्थानीयहरुले साँझ अवेर मेयर शाहको पुत्ला जलाउँदै विरोध जनाएका छन् । मेयर शाहको तस्बिर अंकित पुत्ला बनाएर स्थानीयहरुले शुक्रबार रातिसम्मै नारावाजी गरिरहेका थिए।

यसैबीच स्थानीयहरुले मेयरको निर्देशनमा चलाइएका डोजरलाई रोक्न शुक्रबार रातदेखि नै फुटपाथमै टेन्ट लगाएर बसिरहेका छन् । केही महिनादेखि नै न्युरोडको फुटपाथ विस्तार गर्ने तयारी गरेका मेयर शाहविरुद्ध स्थानीय बासिन्दाहरु प्रदर्शन गर्दैआएका छन् ।

स्थानीयहरुको मागलाई समर्थन गर्दै महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जन पनि विरोध प्रदर्शनमा उत्रिएका छन् । उनले पहिलेदेखि नै महानगर कार्यपालिकामा पनि मेयरविरुद्ध यो मुद्दा उठाउँदै आएका थिए । अन्य जनप्रतिनिधिहरु पनि मेयर शाहले स्थानीयहरुसँग परामर्श र छलफल नगरिकनै फुटपाथ विस्तारको काम अगाडि बढाएकोमा असन्तुष्ट बन्दै आएका छन् ।

यसबीचमा सडक डिभिजनले पनि आफ्नो क्षेत्राधिकारमा महानगर प्रवेश गरेको भन्दै महानगरले भत्काइएको सडक फेरि पिच गरेर फुटपाथ विस्तारको काममा अवरोध गरेको थियो । यही विषयमा मेयर शाहले हाल प्रधानमन्त्री रहेका एमालेका अध्यक्ष केपी ओलीविरुद्ध उत्तेजित टिप्पणी गर्दै आएका छन् । शुक्रबार भने बिहानैदेखि महानगरले स्थानीयहरुको अवरोध हटाउन ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेको छ ।


क्लिकमान्डु