अर्थमन्त्रीले निर्माण व्यवसायीलाई भने: गरेको कामको भुक्तानी पाइन भन्ने गुनासो गर्न दिन्न



काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरुको सबै भुक्तानी दिने प्रतिबद्धता जनाएका छन् ।

नेपाल निर्माण व्यवसायीको टोलीसँग शुक्रबार भएको भेटमा अर्थमन्त्री पौडेलले निर्माण व्यवासायीले भुक्तानी पाइन भनेर गुनाँसो गर्नु नपर्ने बताएका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अर्थमन्त्री पौडेलले भुक्तानीका सबै समस्याहरु समाधान गर्दै जाने बताए। ‘उहाँले भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ,’ अध्यक्ष सिंहले भने, ‘निर्माण  व्यवसायीहरुले भुक्तानी पाए भने पूरै अर्थतन्त्रलाई राहात हुन्छ ।’

उपप्रधानमन्त्री पौडेलले विकासे मन्त्रालयका सचिवहरुसँग शुक्रबार छलफल गरेका छन् । उनीहरुसँग छलफल गरेपछि निर्माण व्यवसायीहरुसँग छलफलमा बसेका हुन् ।

उनले राज्यले काम लगाएपछि भुक्तानी दिनै पर्ने बताए । ‘काम गरेको भएको छैन भने त्यो अर्को विषय हुन सक्ला तर ठीक काम गरेको छ भने भूक्तानी पाउनुपर्छ । त्यो राज्यको दायित्व हो भन्दै आश्वासन दिनुभएको छ,’ अध्यक्ष सिंहले भने ।

उनले नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग भएको भेटमा पनि भुक्तानी नपाएको गुनासो गर्ने ठाउँ नदिने बताएका थिए ।

सरकारले ५० अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने निर्माण व्यवसायीहरुको भनाइ छ । असार मसान्तमा २० अर्ब रुपैयाँ भुक्तानी रोकिएको हो । भुक्तानी रोकिएपछि निर्माण व्यवसायीहरु आन्दोलनमा जाने तयारीमा थिए ।

विगतमा अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्त्यमा एक शीर्षकमा रहेको रकम अर्को शीर्षकमा रकमान्तर गर्दै पुँजीगत खर्चको भुक्तानी गर्ने गरेकाले निर्माण व्यवसायीले काम गरे बराबर असार मसान्तमा सहजै भुक्तानी पाउने गरेका थिए । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्धाधुन्ध रकमान्तर गर्दा कारबाही गर्न सक्ने डरले अर्थ मन्त्रालयका अधिकारीहरु रकमान्तर गर्दै जसरी पनि भुक्तानी दिने पक्षमा कर्मचारी भएनन् । सोही कारण भुक्तानी रोकिएको थियो ।

यस्तै, पछिल्लो समय संघीय सरकारको सञ्चित कोष २ खर्ब ३० अर्ब रुपैयाँले घाटामा भएकाले पनि अर्थ मन्त्रालयले पुरानो रकम भुक्तानीमा आनाकानी गरिरहेको छ ।


क्लिकमान्डु