न्युरोडको फुटपाथ विस्तारमा बालेनविरुद्ध स्थानीयहरुको प्रदर्शन [तस्बिरहरु]



काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने क्रममा स्थानीयहरुले विरोध गरेका छन् । महानगरपालिकाले भने ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेको छ । साथै त्यहाँ आन्दोलन दबाउन प्रहरी पनि परिचालन गरिएको छ ।

यही साता उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाका लागि काम नियमित गर्न बाटो खुलेको हो ।

यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तार गर्ने क्रममा सडक डिभिजनले अवरोध गरेको थियो । साथै कालोपत्रे समेत भत्काएर सामान जफत गरेको थियो ।

सोही कारण महानगर र सडक डिभिजनबीच लामो विवाद छ । जसकारण प्रधानमन्त्री केपी ओलीविरुद्ध महानगरका मेयर बालेन्द्र शाहले बारम्बार आलोचना र आरोप लगाउँदै आएका छन् ।

न्युरोडमा फुटपाथ विस्तार गर्ने काममा एमालेले रोकेको भन्दै मेयर शाह रुष्ट बन्दैआएका छन् । यो विषयलाई लिएर महानगर कार्यपालिका बैठकमा पनि चर्को विवाद भएको थियो ।

यता सडक डिभिजनले भने सडक साँघुरो गर्न नहुने भन्दै फुटपाथ विस्तारको कामलाई रोकेको थियो । अदालतको आदेशपछि शुक्रबार महानगरले फुटपाथ विस्थार गर्ने क्रममा स्थानीयहरुले नै अवरोध गरेका हु्न् ।


क्लिकमान्डु