चितवनमा गुगलको अध्ययन गर्न पुगेको टोलीको गाडीमा रेलमार्ग सर्भे टोलीको भन्दै आगजनी*



चितवन । गुगलको अध्ययनका लागि आएको टोलीमाथि रेलमार्गको सर्वेक्षणका लागि आएको भन्दै आक्रमण भएको छ ।

बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा सर्वेका लागि पुगेको आरएच कन्सल्टेन्सीको सवारीमाथि स्थानीयले आगजनी गरेका छन् । भरतपुर महागनरपालिका- ७ का बासिन्दाको एक समूहले बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरको गाडी जलाएका हुन् ।

गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । रेलमार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालका अनुसार मंगलबार महानगरक ८ नम्बर वडामा सर्भे गरेको टोल आज वडा नम्बर ७ मा पुगेको थियो । तर उक्त टोलीले भने आफूहरु रेलमार्गको अध्ययन गर्न नआएको जनाएको थियो ।

पूर्वपश्चिम रेलमार्ग भरतपुरको घना बस्तीबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय आन्दोलित भएको उनले बताए । स्थानीयले बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नमिल्ने भन्दै अहिलेको सर्भे परिवर्तन गर्नुपर्ने माग गरिरहेका छन् ।

रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जाने बताइएको छ । बीच बस्तीबाट रेलमार्गको सर्भे भएपछि संघर्ष समिति र रेल विभागबीच महानगरको समन्वयमा छलफल समेत भएको थियो । उक्त छलफलमा बस्तीको बीचबाट रलमार्गको रुट परिवर्तन गरेर कम क्षति गराउने विकल्पमा जाने सहमति भए पनि अहिले सोही रुटमा सर्भे थालिएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

* संघर्ष समिति र प्रदर्शनकारीले रेलमार्थको सर्वेक्षण टोली भनेको विषय फरक पर्न गएकाले सच्च्याइएको छ ।


क्लिकमान्डु