सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले लगानी गर्न सक्ने



काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको बताइएको छ ।

मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए ।

मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा छलफल भएको मन्त्रालयका सचिव मणिराम गेलालले बताए ।

भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो । दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको सचिव गेलालले जानकारी दिए ।


क्लिकमान्डु