इन्द्रावतीमा बाढीको वितण्डा: पाँचपोखरी सडक क्षतविक्षत, ३ वटा झोलुङ्गे पुल बगायो



काठमाडौं । आइतबार राती याङग्री खोला थुनिएर इन्द्रावतीमा बाढी आउँदा तीनवटा झोलुङ्गे पुल बगाएको छ ।

बाढीले याङग्री, चिलाउने र चिन्डे-जतन जोड्ने झोलुङ पुल बगाएको हो । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले इन्द्रावतीको बाढीले नदी किनार आसपासका स्थानीयका जग्गाहरु क्षत विक्षत बनाएको बताए ।

‘आसपासको जग्गाको कटानको कुनै सीमाना नै छैन् । आम नागरिक खेतीयोग्य लगिसकेको अवस्था छ,’ उनले भने, ‘भौतिक संरचनातर्फ हेर्दा घरहरु पनि तानिरहेको छ । मेलम्चीबाट पाँचपोखरी पुग्ने सडक क्षत विक्षत भएको छ ।’

इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा छ ।

उनले गाउँपालिका पुग्ने वैकल्पिक सडक समेत नभएको गुनाँसो गरे । ‘नदी आसपास बस्ती संरचना छन् । बेलमै सुरक्षित स्थानमा सर्नुहोस्,’ उनले भने,’गाउँपालिकाले सक्ने सहयोग गर्न तयार छौं ।’  उनले बासखर्क र बरुवामा सम्पर्क समेत टुटेको समेत बताए ।

मेलम्चीबाट पाँचखोरी जाने बाटो कटान भएको छ । तिपेनी बजार छेउमै १०० मिटर जति पूरै बाटो बगाएको छ । अन्य स्थानमा समेत ढलान गरेको बाटो बगाएको छ ।  खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ ।

७.५ मेगावाट क्षमताको इन्द्रावती जलविद्युत् आयोजनाको पाँचपोखरीको तिपेनीमा हेडवर्क्स बालुवाले भरिएको छ । सबस्टेसन र पावर हाउसमा क्षति पुर्‍याएक अध्यक्ष लामाले जानकारी दिए । यो नेशनल हाइड्रोपावरको आयोजना हो । जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिब्रिज’ पनि जोखिममा परेको छ । त्यस्तै मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा परेका छन् । यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिबृज’ बाढीले बगाएको छ ।


क्लिकमान्डु