‘गाडीबाट निस्किएर पौडिएर आएँ, बसमा सँगै भएका छोराछोरी नाति नातिनी हराए’



काठमाडौं । शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भए ।

बिहान ३:३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । गौर आउँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेको र उनीहरु बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बस लेदोसहितको पहिरोले बगाएर त्रिशूलीमा झरेपछि गाडीमा सवार तीन जना पौडेर बच्न सफल भएका छन् ।

काठमाडौंबाट रौतहट जाँदै गरेको बस नदीमा खसेपछि जोगेश्वर राय, नन्दन दास र सुरज गुप्ता पौडी खेलेर बाँचेको प्रहरी अधिकारीले बताएका छन् । सुरज गुप्ता भरतपुर अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

काठमाडौंमा उपचार गरेर घर फर्कँदै गरेको बताउने जोगेश्वर रायले आफू चढेको गाडी एक्कासि हल्लिएको र चार पटक पल्टी खाएर त्रिशूली खोलामा खसेको बताए ।

पानीमा डुबेपछि केही घुट्की पानी पिएको र पौडी खेलेर आफू जसोतसो किनारामा आएको बताएका छन् ।

बसले पल्टी खाएपछि म पनि डुबेँ । पाँच छ घुट्की पानी पिएँ,’ उनले भने, ‘त्यहाँबाट कसरी कसरी कसरी बाहिर निस्किएर पौडी खेलेर किनारमा आएँ ।’ त्यहाँबाट छामछुम पारेर रातिको समयमा सडक किनारामा आएको उनले सुनाए ।

तर आफूसँग बसमा रहेका छोरा, छोरी, नाति र नातिनी नभेटिएकोमा भने उनी चिन्तित छन् । ‘बसमा छोरा, जेठी छोरी, एक जना नाति र एक जना नातिनी पनि थिए । पाँच जनामा म मात्रै बाचेँ,’ उनले भने ।

दुर्घटनामा बाँच्न सफल अर्का यात्रु रौतहटका नन्दन दासले मुग्लिनमा खाना खाएर बस गुडेको एक डेढ घण्टामा बस दुर्घटनामा परेको उनको भनाइ छ ।

नदीमा गाडी खसेपछि झ्यालबाट बाहिर निस्किएर पौडिँदै किनारमा पुगेको उनले बताए ।

‘झ्यालबाट निस्किएपछि पौडी खेलिरहेको थिएँ । तर भित्र जाँदै छु कि बाहिर आउँदै छु भन्ने थाहा थिएन तर किनारमा पुगेछु ।’


क्लिकमान्डु