८ अर्ब लगानीमा बूढानीलकण्ठमा पाँचतारे डिलक्स होटल बनाउँदै सूर्य नेपाल



काठमाडौं । भारतीय लक्जरी होटल आईटीसीको चेनलाई सूर्य नेपालले काठमाडौं भित्र्याएको छ । सूर्य नेपालले आईटीसीलाई नेपाल ल्याएर लक्जरीयस होटल निर्माणको तयारी गरिरहेको छ । सूर्य नेपालका अनुसार बूढानीलकण्ठमा ८ अर्ब खर्चिएर पाँचतारे डिलक्स होटल बनिरहेको हो ।

बूढानीलकण्ठमा सूर्य नेपालको ७२ रोपनी जग्गा छ । सोही जग्गामा २१४ कोठाको लक्जरीयस होटल निर्माण भइरहेको हो । नेपालको मापदण्ड ५ तारे डिलक्स स्तरको मात्रै भएकोले सोही अनुसारको होटल बनाइने पनि सूर्य नेपालले जानकारी दिएको छ ।

जग्गा व्यवस्थापन, सडक तथा जग्गामा पर्खाल निर्माणको काम सकिएको कम्पनीले जनाएको छ ।

आईटीसी भारतीय लक्जरीयस होटल ब्राण्ड हो । यसले भारतका विभिन्न सहरमा स्तरीय होटल सञ्चालन गरिरहेको छ ।

सूर्य नेपालले नेपालमा भित्र्याउने होटल आईटीसीकै चेन होटल हुन्छ भने नेपालमा भएका भन्दा अझै बढी लक्जरीयस हुने दाबी कम्पनीको छ । नेपालमा बनिरहेको यो होटल नयाँ दिल्लीको आईटीसी मौरियाकै स्तरमा हुने पनि सूर्य नेपालको भनाइ छ ।

यो होटल निर्माणको प्रारम्भिक चरणमा नै रहेको छ । होटल निर्माणको काम सुरु भएपछि पनि ४ वर्ष लाग्ने भएको अनुमान सूर्य नेपालको छ ।

नेपालमा लगानी विविधिकरण गरिरहेको सूर्य नेपालले स्तरीय पाँचतारे होटलबाट पर्यटकीय सेवा क्षेत्रमा प्रवेश गर्न लागेको जानकारी समेत दिएको छ ।

सूर्य नेपालमा भारतको आईटीसी लिमिटेडको ५९ प्रतिशत स्वामित्व छ । यसमा नेपाली लगानीकर्ताको ३९ प्रतिशत, ब्रिटिस अमेरिकन टोबाको इन्भेष्टमेन्ट कम्पनीको २ प्रतिशत लगानी छ ।

होटल निर्माण भएर सञ्चालनमा आएपछि कम्तिमा ५ सय जनाले रोजगारी पाउने छन् । होटल सञ्चालनमा आएपछि होटलसँग जोडिएर आउने सेवा सुविधाबाट जोडिने प्रत्यक्ष र अप्रत्यक्ष सेवा पाउनेको जमात पनि ठूलो हुने छ ।

पछिल्लो समय नेपालमा ५ तारे होटलसँगै विदेशी चेन पनि बढिरहेको छ । विदेशी चेनले होटलको प्रवर्द्धन र अन्तर्राष्ट्रिय सेवा सुविधामा एकरुपता हुने भएको छ । जसका कारण ग्राहक आकर्षित हुने र बजारीकरणमा पनि सहज हुन्छ ।


क्लिकमान्डु