पहिरोले कालीगण्डकी करिडोर, मालढुङ्गा–बेनी, पोखरा, बीपी र मध्यपहाडी राजमार्ग सडक अवरुद्ध



बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो ।

बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको छ । कोरिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारीसाधान बाटोमै ठप्प रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ ।

“लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन”, प्रहरी नायव उपरीक्षक यादवले भने । वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका–२ डुडियामा भने यातायात सञ्चालनमा आएको छ ।

मालढुङ्गा–बेनी सडक अवरुद्ध

यसैगरी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक पनि अवरुद्ध भएको छ । भारी वर्षाका कारण कुश्मा नगरपालिका–१ मालढुङ्गा नजिक भिरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

आज बिहानदेखि सडक अवरुद्ध बनेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिए । सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका छन् । अन्यत्रबाट आएका सवारीसाधन मालढुङ्गामा रोकिएका छन् ।

पोखरा जाने सबै बाटो अवरुद्ध
अविरलको झरीले पोखरा छिर्ने सबै सडकहरू अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग सहित गण्डकीका प्रमुख ६ वटा सडकमा पहिरो झरेको छ ।

पृथ्वीराज मार्गको तनहुँ स्थित म्याग्दे ४ मनोहरीमा बाटो हिलो भएर ट्रक र बस फसेका छन् । जसका कारण सडक पूर्ण ठप्प भएको गण्डकी प्रहरीले जनाएको छ ।

यस्तै, सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका ८ स्थित शान्ति, वडा नम्बर १० को मोदीखोला, गल्याङ ८ को चिउरी र गल्याङ ११ को मुडकिल्लामा पहिरो झरेको छ ।

बेंसीशहर मनाङ सडक, मालढुंगा बेनी, बेनी दरबाङ र बेनी जोमसोम सडक पनि पूर्ण रुपमा ठप्प छ । बेंसीशहर चामे सडकको मर्स्याङ्दी ४ हावाडाँडामा पहिरोले बाटो रोकिएको छ ।

मालढुंगा वेनी सडकको कुश्मा नगरपालिका १ मालढुंगामा पहिरो झरेको प्रहरीले जनाएको छ । यस्तै, बेनी जोमसोम सडकको रघुगंगा ३ बैसरीमा लेदो सहित पहिरो आएको छ ।

बेनी दरबाङ सडक खण्डको बेनी ४ घुमाउने भीरमा पहिरो आएको छ । सबै सडकमा प्रहरी खटाएर पहिरो पन्छाउने काम भइरहेको गण्डकी प्रहरीले जनाएको छ ।

सिन्धुलीमा बीपी र मध्यपहाडी राजमार्ग पनि अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका -२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका-६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु