लगानीकर्ताले नपत्याएपछि आशयपत्र पेश गर्ने समय एक महिना थपियो



काठमाडौं । लगानीकर्ताले नपत्याएपछि लगानी बोर्डले १२ वटा परियोजनाको लागि मागेको आशयपत्रको समय एक महिना थप गरेको छ ।

गत वैशाख १६ र १७ गते काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा सोकेमा राखिएका परियोजनामा इच्छुक लगानीकर्ताले आशयपत्र पेश गर्न बोर्डले दिएको समय सकिएको छ ।

निर्धारित समयमा ८ वटा परियोजनालाई पहिलो चरणमा लगानी जुटाउन आशयपत्र माग गरिएको भए पनि २ वटामा एउटा एउटा लगानीकर्ताले इच्छा देखाएका छन् । जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज परियोजनामा सोल्टी सिब्क्रीम प्राली काठमाडौं र बबरमहल एडमिनिष्ट्रेटिभ प्लाजाको लागि ग्वान्जु एए ल्याण्डमार्क काठमाडौंले मात्रै आयशपत्र पेश गरेका छन् ।

लगानीबोर्डको क्षेत्रभित्र पर्ने १२ वटा परियोजनामध्ये बोर्डले बुधबार ८ वटा परियोजनाको लागि माग गरेको आशयपत्र खोलेको थियो । उक्त आयपत्रमा अरु ६ वटा परियोजना पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, चन्द्रगिरि चितलाङ पालुङ चितवन एक्सप्रेसवे, धुलिखेल मेडिसिटी प्रोजेक्ट, सुदूरपश्चिम सार्वजनिक यातायात, दैजी इन्ड्रस्ट्रियल पार्क र गौतमबुद्ध मेटरनीटि अस्पतालको लागि भने कसैले पनि रुची देखाएनन् ।

लगानी बोर्डको क्षेत्रभित्र परेका अरु ४ वटा परियोजना नौमुरे मल्टिप्रपोज प्रोजेक्ट, कालिगण्डकी २ स्टोरेज हाइड्रोपावर, खिम्ती थोसे सिवाखोला स्टोरेज हाइड्रोपावर र भारभुङ स्टोरेज हाइड्रोपावर प्रोजेक्टको लागि भने अझै एक साता आशयपत्र पेश गर्ने समय रहेको छ ।

लगानी सम्ममेलनको लागि प्राविधिक समितिले सिफारिश गरेका १९ वटा परियोजनामध्ये लगानी बोर्डको क्षेत्रमा परेको १२ वटा परियोजनामा आयशपत्र पेश गर्न बोर्डले एक महिनाको समय दिएको पनि लगानी बोर्डका उपसचिव तथा प्रवक्ता रमेश अधिकारीले बताए ।

सरकारले धुमधामका साथ आयोजना गरेको लगानी सम्मेलनका आयोजनालाई लगानीकर्ताले नपत्याएपछि यी आयोजना सोकेसशमै मात्रै सिमित भएको देखिको छ ।


क्लिकमान्डु