राष्ट्रिय परिचयपत्र बनाउन छुटेका नागरिकलाई पनि राज्यको सुविधाबाट वञ्चित गरिँदैन: गृहमन्त्री लामिछाने



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचयपत्र बनाउनका लागि समय दिइएको बताए । उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे ।

उनले सूचना पाउनासाथ सबै जना बनाउने जाने गर्दा सम्बन्धित कार्यालयमा भीडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको बताए । उनले भीडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि बताए ।

‘भदौ मसान्तसम्म पनि कसैले भरिसक्नु भएनछ भने पनि पहिलो चरणमा २८ जिल्लाहरुमा नसक्दा पनि हामीले समय राखेका छौँ, भदौ मसान्तसम्म पनि यहाँहरुसँग समय छ । भदौ मसान्तसम्म भर्दा पनि तपाईँले प्राप्त गर्ने, राज्यले दिने सेवा, सुविधाबाट आम नागरिकहरु वञ्चित हुनु पर्दैन । कथं कदाचित कसैको भदौ सम्म पनि छुटेको रहेछ भने स्पष्ट पार्न चाहन्छु, राज्यबाट प्राप्त गर्ने सुविधाबाट नागरिकलाई राज्यले कहिले पनि विमुख पार्दैन,’ गृहमन्त्री लामिछानेले भने ।

परिचयपत्र व्यवस्थापनका लागि अतिरिक्त मानव संसाधनको प्रयोग गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत र स्थानीय निकायमा पनि थप जनशक्तिको प्रवाह गर्ने काम भएको लामिछानेले जानकारी दिए । परिचयपत्र लिनका लागि भीडभाड लागे पनि छुटेकाहरुलाई परिचयपत्र पाउने अधिकारबाट वञ्चित नगराउने गृहमन्त्रीको प्रतिबद्धता छ ।


क्लिकमान्डु