चक्रपथ विस्तारका लागि दबाब दिन पैदल यात्रा



काठमाडौ । चक्रपथ विस्तार दु्रतगतिमा सम्पन्न पर्ने माग राखेर नेपाल कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा शनिबार पैदल यात्राको आयोजना भएको छ । कलङ्कीबाट सुरु भएको यात्रा चक्रपथको कलङ्की–सीतापाइला–स्वयम्भू–बालाजु–सामाखुसी– वसुन्धरा हुँदै धोविखोला पुग्ने कार्यक्रम छ ।

सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्न परेको भन्दै विरोध स्वरूप पैदलयात्रा गरिएको हो । सरकारले चक्रपथ विस्तारका लागि ६ वर्ष अघि धमाधम रुख काटेर नयाँ लेन बनाउने भनिए पनि सो काम अलपत्र छ ।

सडक विस्तार गर्ने भनेर सडक छेउमा पर्ने मठ मन्दिर, बस बिसौनी भत्काइए, फुटपाथ हटाइए तर ती सबै ठाउँ अहिले आहाल, भग्नावशेष र फोहोर थुपार्ने स्थल बनेका छन् । २ वर्षभित्र सक्ने गरी कलङ्की– वसुन्धरा सडक विस्तार गर्ने सम्झौता नेपाल र चीनबिच भएको भए पनि अहिले यी ठाउँहरू कुरुप बनेको छ ।

चक्रपथ विस्तारका लागि कलङ्कीदेखि ग्रीनसिटी हस्पिटल क्षेत्रसम्म खन्ने काम बाहेक केही भएको छैन । घाम लाग्दा धुलो र पानी पर्दा हिलो त यो सडक खण्डको विशेषता नै बनिसकेको छ ।


क्लिकमान्डु