दलाइ लामालाई भेट्न अमेरिकी टोली भारतमा, चीनको चेतावनी



एजेन्सी । अमेरिकी पूर्वसभामुख नेन्सी पलोसीसहित अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको टोली तिब्बती धर्मगुरु दलाइ लामालाई भेट्न हिमाचल प्रदेशको धर्मशाला पुगेका छन् । उनीहरुको बिहीबार दलाइ लामासँग भेट गर्ने कार्यक्रम छ ।

यस क्रममा अमेरिकी संसद्‍मा चीन तिब्बत विवादलाई लिएर हालै पारित भएको एक विधेयकमाथि छलफल हुनेछ । तर अमेरिकी प्रतिनिधिमण्डलको यस भ्रमणलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ । अमेरिकाले यदि तिब्बतलाई चीनको भूभाग नमान्ने हो भने वा आफ्नो प्रतिबद्धता पालना नगर्ने हो भने यसविरुद्ध कडा कदम उठाउने भन्दै चीनले चेतावनी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले चेतावनी दिँदै भनेका छन्, “१४औं दलाइ लामा कुनै विशुद्ध धार्मिक व्यक्ति हैनन् । बरु धर्मको आडमा चीन विरोधी पृथकतावादी गतिविधिहरुमा लिप्त एक निर्वासित राजनीतिक व्यक्ति हुन् ।”

यस्तै लिनले विशेषगरी अमेरिकी राष्ट्रपति जो बाइडेनबाट कंग्रेसमा पारित चीन तिब्बत विवाद सुल्झाउने भनिएको विधेयकको समर्थन नगर्न पनि आग्रा गरेका छन् । “अमेरिकाले यस विधेयकमा हस्ताक्षर गरेर यसलाई कानुन बनाउन हुँदैन,” लिनले भनेका छन् ।

उनले चीन आफ्नो सम्प्रभुता, सुरक्षा र विकासको हितलाई दृढतापूर्वक रक्षा गर्न कडा कदम उठाउने पनि बताए । भारतस्थित चिनियाँ दूवातासले पनि यस विषयमा लामो प्रतिक्रिया दिँदै दलाइ लामा चीन विरोधी पृथकतावादी भएकाले चीनसँग गरिएको प्रतिबद्धताको सम्मान गर्न अमेरिकालाई आग्रह गरेको छ । साथै विश्वमा गलत संकेत फैलाउने काम बन्द गर्न पनि उसले चेतावनी दिएको छ ।

यसअघि पनि अमेरिकी पूर्वसभामुख नेन्सी पेलोसी चीनको कडा चेतावनीका बावजुद ताइवान भ्रमण गरेकी थिइन् । यसपटक पेलोसीको हिमाचल भ्रमणले चीन थप आक्रोशित बनेको छ । धर्मगुरु दलाइ लामा भने लामो समयदेखि हिमाचलमा निर्वासित रहँदै आएका छन् । उनी बस्दै आएको हिमाचललाई चीनले तिब्बतकै क्षेत्रको रुपमा लिने गर्छ भने भारतले आफ्नो प्रदेशको रुपमा प्रशासन चलाउँदै आएको छ ।


क्लिकमान्डु